कोशी र इटहरी नमुना विजयी

पुस २२, २०८१

अर्जुन सुवेदी

Koshi and Itahari sample wins

सुनसरी —  कोशी क्याम्पसले इटहरीमा जारी प्रदेशस्तरीय दोस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । इटहरी आदर्श जायन्ट्सको आयोजनामा सोमबार सुरु प्रतियोगिताको उद्घाटन खेलमा कोशीले दमकको आस्था कलेजमाथि २६ रनको जित निकाल्यो ।

इटहरी–९ स्थित जनता क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कोशीले १६ ओभरमा छोट्याइएको खेलमा ८ विकेट गुमाएर १ सय ३५ रन बनायो । कोशीका सुभम बरालले ३५, गोपाल मण्डलले २७ र जेम्स बिकले १७ रन बनाए । आस्थाका सौजन घिमिरेले ३ र संगम बुढाथोकीले २ विकेट लिए ।

१ सय ३६ रनको लक्ष्य पछ्याएको आस्थाले निर्धारित ओभरमा ८ विकेट गुमाई १ सय ९ रनमात्र बनायो । संगम बुढाथोकीले ३०, हिमांशु गिरीले १८ र सौजन घिमिरेले १५ रन जोडे । म्यान अफ द म्याच कोशीका गोपाल मण्डल भए । उनले ३ विकेट लिए ।

सोमबारै दोस्रो खेलमा इटहरी नमुना कलेजले कोशी सेन्ट जेम्स कलेजलाई ८१ रनले हरायो । नमुनाले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको कोशी सेन्ट जेम्स ७२ रनमा अलआउट भयो । नमुनाका प्रभात राईले ३९ बलमा ५६ रन जोडे । सेन्ट जेम्सका एमडी आरिफले ५ विकेट लिए । नमुनालाई जिताउन ५ विकेट लिएका प्रकाश कार्की म्यान द म्याच भए ।

पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका विभिन्न १० कलेजका टोलीको सहभागिता छ । प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग र क्लाउड एजुकेशन एण्ड भिषा सर्भिसको सहयोगमा सञ्चालन भएको हो ।

प्रतियोगिताले कोशी प्रदेशका कलेजहरू बीचको क्रिकेट प्रतिभालाई उजागर गर्दै खेलकुदको माध्यमबाट शैक्षिक क्षेत्रलाई समेत प्रोत्साहन गर्ने लक्ष्य लिएको आयोजकका अध्यक्ष भुपाल लुइँटेलले जानकारी दिए ।

अर्जुन

Link copied successfully