इन्डो-नेपाल भलिबल : आर्मीसँग हारेपछि बाहिरियो एपीएफ

पुस २२, २०८१

घनश्याम गौतम

Indo-Nepal Volleyball: APF is out after losing to Army

बुटवल — बुटवलको रामनगरमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गुजरात स्टेट भलिबल भारत र मणिमुकुन्द भलिबल क्लब सेमिफाइनल पुगेका छन् । सोमबार चरण समूहको खेल सकिएसँगै चार टिमले अन्तिम चारको तय गरेका हुन् ।

प्रतियोगिताबाट रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, गल्कोट भलिबल क्लब बाग्लुङ, विभागीय टिम एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस क्लब बाहिरिएका छन् । सोमबार सेमिफाइनलमा समूह ‘ए’ विजेता पुलिस र समूह ‘बी’ उपविजेता गुजरात तथा समूह ‘बी’ विजेता आर्मी र समूह ‘ए’ उपविजेता मणिमुकुन्दबीच प्रतिस्पर्धा हुनेछ ।

सोमबार लिग चरणा दुई खेल सकिएपछि समूह विजेता र उपविजेताको टुंगो लागेको मुख्य रेफ्री चन्द्रबन्दना राईले बताइन् । सोमवार पहिलो खेलमा पुलिसले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८, २५–१९, २८–२६ को सोझो सेटमा हराएको थियो । रुकुम तीनै खेलमा पराजित भयो ।

विभागीय डर्बीमा आर्मीले एपीएफलाई ३–१ को सेटमा हराएको थियो । आर्मीले २५–१७, २५–२१, १९–२५, २५–१५ को नतिजा निकालेको थियो । समूह ‘ए’ चार टिममध्ये पुलिस र मणिमुकुन्दले समान दुई खेल जितेको थियो । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले एक खेलमा जित्यो ।

समूह ‘बी’मा आर्मीले ३ खेल जित्यो । तीन खेलमा एपीएफले १ खेलमात्र जित्यो । गुजरातले २ खेल जित्दै सेमिफाइनल स्थान बनायो । चार इरानी र एक भारतीयसहित उत्रिएको गल्कोट भलिबल क्लबले तीनै खेलमा हार बेहोर्‍यो ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully