जय ट्रफी पुरुष इलिट कप दुईदिवसीय क्रिकेटको पहिलो दिनका दुवै खेलमा ब्याटरले धैर्य देखाउन सकेनन्, त्यसको फाइदा उठाउँदै स्पिनर चम्किँदा दुवै खेलमा गरेर २९ विकेट खसेको छ
जनकपुर — उद्घाटन खेलमा मधेश प्रदेश घरेलु मैदानमा १ सय २ रनमै अलआउट भएको छ । मधेशको इनिङ्स आइतबार ३५.३ ओभरमै खुम्चिएको थियो । जनकपुरको रामजानकी बहुउद्देश्य रंगशालामा मधेशले कमजोर ब्याटिङ गरेको थियो ।
कप्तान हरिशंकर साह ४ रनमै नन्दन यादवको बलमा आउट भए । सम्हालिएर खेलिरहेका मयन यादवले त्यसको अर्को ओभरमा रिजन ढकाललाई छक्का प्रहार गरेका थिए । मयन र नीरजकुमार यादवको २१ रनको साझेदारीले लञ्च ब्रेकअघि मधेशलाई ११ ओभरमा ३२–१ को स्थितिमा पुर्याएका थिए ।
त्यसपछि भने मधेश निकै कमजोर देखियो । बागमती प्रदेशका कप्तान सन्दीप लामिछानेको बलमा मयन २१ रनमा आउट भए । मयनले ३६ बल खेली समान १ चौका र छक्का प्रहार गरे । मयनलाई आउट गरेपछि सन्दीपले एकपछि अर्को विकेट लिन सुरु गरे । उनले एकै ओभरमा नीरजलाई १२ र शाहिल पटेललाई ६ रनमै आउट गरे ।
प्रतिश जीसीले आफ्नो पहिलो बलमै रूपेश सिंहलाई ६ रनमा आउट गरे । सन्दीपको बलमा छक्का प्रहार गरेका विशाल पटेल १६ रन बनाई सूर्य तामाङको बलमा आउट भए । विशाल र अभिषेक तिवारीले सातौं विकेटमा २८ रनको साझेदारी गरे । विशालले २९ बलमा समान १ चौका र छक्कासहित २९ रन बनाए ।
चिया ब्रेकअघि मधेश ३३ ओभरमा ७ विकेट गुमाउँदै ९८ रनमा थियो । चिया ब्रेकपछिको पहिलो ओभरमा प्रदीप पासवान २ रन बनाई सूर्यको दोस्रो सिकार भए । सन्दीपले अभिषेकलाई ११ रनमा आउट गरी आफ्नो पाँचौं विकेट लिए । सूर्यले रञ्जितलाई खाता खोल्न नदिएपछि मधेशको इनिङ्स सस्तैमा टुंगिएको थियो । सन्दीपले १४ ओभरमा ४१ रन खर्चिएर ५ विकेट लिए । सूर्यले २.३ ओभरमा ७ रन खर्चेर ३ तथा नन्दन र प्रतिशले १–१ विकेट लिए ।
पहिलो दिनको खेल समाप्तिमा बागमतीले १३ ओभर खेल्दै २ विकेटको क्षतिमा ३४ रन बनाएको छ । शुभ कंसाकारले २३ बलमा २२ र ईशान पाण्डे ३८ बलमा ९ रन बनाई अविजित छन् । विशालले आशुतोष घिरोहियालाई शून्य र रूपेश सिंहले रित गौतमलाई ३ रनमा बोल्ड गरे । बाक्लो हुस्सुका कारण खेल ढिलो सुरु भएको थियो ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलको उद्घाटन गरे । उद्घाटनमा मुख्यमन्त्री सिंह, जनकपुरका मेयर मनोज साह, मटिहानीका मेयर हरिप्रसाद मण्डल, क्यानका उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले क्रिकेटको क्रेज देशैभर रहेकाले पूर्वाधार विकासमा लाग्नुपर्ने बेला आएको बताएका थिए ।
जय ट्रफी भइरहेको जनकपुरको मैदानमा रंगशाला बनाउन छिट्टै टेन्डर आह्वान गर्ने प्रक्रियामा मधेश प्रदेश सरकार रहेको मुख्यमन्त्री सिंहले जानकारी दिए ।
