काठमाडौँ — एन्फा वुमेन्स लिग २०२४–२०२५ को दोस्रो चरणमा आइतबार पुलिस र आर्मी भिड्दा कुनै गोल निस्केन र खेल बराबरीमा टुंगियो । तर सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेल भने तनावपूर्ण रह्यो ।
खेलको २२ औं मिनेटमा पुलिसका पूजा रानाले गोल गरे पनि त्यसलाई रेफ्री नवीन्द्र महर्जनले मान्यता दिएनन् । त्यसकै विरोध गर्दै पुलिस टिमले २५ मिनेट मैदान छाडेको थियो ।
रेफ्रीले भने पूजाले प्रहार गर्ने क्रममा आर्मीकी गोलरक्षक अञ्जना रानामगरमाथि फल भएको निर्णय दिएका थिए । लामो छलफलपछि पुलिस मैदानमा फर्केको थियो, तर खेलमा दुवै टिमको आक्रमण निर्णायक हुन सकेन ।
खेल आफैंमा रोमाञ्चक र तीव्र गतिको रहे पनि दुवै टिमले सटिक आक्रमण गर्न सकेनन् । खेल सकिँदा मैदानमा लगभग अँध्यारो छाइसकेको थियो ।
यो बराबरीको नतिजापछि दुवै टिम समान ४ अंकमा रहे । पुलिस भने गोल अन्तरको आधारमा पाँच टिममध्ये शीर्ष स्थानमा रहेको छ भने आर्मी दोस्रोमा रह्यो ।
