बुटवल — बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको आइतवार भएको पहिलो खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी भएको छ ।
आइतबारको पहिलो खेलमा पहिलो सेट मणिमुकुन्दले मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई २५–२०, १८–२५, २५–१२, २०–२५ र १५–१२ को सेटमा हराएको हो । पहिलो सेटमा मणिमुकुन्दले जित्यो । दोस्रो सेटमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले सहजै जित्यो । दोस्रो सेटमा लय गुमाएको मणिमुकुन्दल तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्यो । तेस्रो सेटमा मदन भण्डारी स्पोर्टसका खेलाडीले तालमेल मिलाउनै सकेनन् । अधिकांश स्पाइक चेक आउट भएपछि मणिमुकुन्दले लगातार अंकको लिड गर्न सफल भयो । ९–२० अंकको स्थितिबाट मणिमुकुन्दले २४ पुर्याउँदा मदनभण्डारी १२ अंकमै रोकिएको थियो ।
तेस्रो सेटमा लज्जास्पद हार ब्यहोरेको मदन भण्डारी स्पोर्ट्सले चौथो सेटमा सुधार गर्यो । बराबरीको स्थितिमा खेल्दै गएको मदन भण्डारीले मणिमुकुन्दलाई अन्तिम समयमा २० अंकमा रोक्दै जित निकाल्यो र बराबरीको सेटमा पुर्याएको थियो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीका लागि धिरजकाजी बस्नेत, उमेश सेन्चुरीले उत्कृष्ट प्रदर्शन गरेका थिए । तर, जित्नका लागि आवश्यक अन्तिम सेटमा फेरि खेल प्रदर्शन गर्नै सकेन । सुरुवाती चरणमा ४ अंकले लिड गरेको मदन भण्डारी स्पोर्ट्स विवश आलेको मगरको गलत प्लेसिङसँगै पछाडि परेको थियो । मणिमुकुन्दले लगातार अंक बटुलेर ७–४ को अवस्थामा पुर्याएको थियो । मैदान परिवर्तनसँगै मणिमुकुन्दले लगातार अग्रता कायम राखेर १५–१२ को अंकमा जित निकाल्यो । मणिमुकुन्दका लागि क्याप्टेन लोकेन्द्र भण्डारी, रेशम विक र श्री संगमले योगदान गरेका थिए ।
आइतवारको दोस्रो खेल गुजरात भलिबल स्टेट भारत र गल्कोट भलिबल क्लब बाग्लुङबीच हुनेछ । समूह ‘ए’मा रहेका चार टिममध्ये नेपाल प्रहरी र मणिमुकुन्द भलिबल क्लबले २ र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १ खेल जितेका छन् । रुकुम पश्चिमले दुवै खेल गुमाएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले २ र मणिमुकुन्दले १ हार बेहोरेका छन् । त्यस्तै समूह ‘बी’मा रहेका नेपाल आर्मी क्लबले २ खेल जितेको छ ।
दुई खेल खेलेका विभागीय टिम एपीएफ र गुजरात भलिबल स्टेट भारतले १/१ खेल जितेका छन् । एपीएफ गुजरातसँग र गुजरात नेपाल आर्मीसँग पराजित भएको छ । इरानी र भारतीय खेलाडीसहित खेलेको गल्कोट भलिबल क्लबले भने दुई खेल नै हारेको छ । खेल लिगकम नकआउटमा सञ्चालन भइरहेको छ । पुस २४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी रहेका छन् ।
