नुवाकोटमा झिल्टुङ 'क्रसकन्ट्री' दौड हुने

पुस २१, २०८१

रासस

Jhiltung 'cross country' race will be held in Nuwakot

काठमाडौँ — बेलकोटगडी नगरपालिका–५ नुवाकोटको आयोजना तथा एथ्लेटिक्स परिवार नेपालको प्राविधिक सहयोगमा ‘नवौँ झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता’हुने भएको छ । 

आगामी माघ ५ गते नुवाकोटस्थित कोल्पुटार, बेलकोटगढी नगरपालिकामा हुने प्रतियोगितामा विभिन्न सात विधामा प्रतिस्पर्धा हुने आयोजक संस्थाका संस्थापक एवम् पूर्वएथ्लेटिक्स खेलाडी मोहन नेपालले आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

उनका अनुसार प्रतियोगितामा १३ दशमलव पाँच किलोमिटर दौड खुला र सोही विधामा खुला स्थानीय, चार दशमलव पाँच किमि खुला जुनियर (१६ वर्षमुनि) र सोही विधामा १६ वर्षमुनिका स्थानीय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

यसैगरी प्रतियोगितामा चार दशमलव पाँच किमि दौडमा ४५ वर्षमाथि उमेर समूह, १३ दशमलव पाँच किमिको भेट्रान खुला पुरुष र स्थानीय ज्येष्ठ नागरिक (पुरुष र महिला वाक एन्ड टक विधामा प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा १३ दशमलव पाँच किमि दौड खुलातर्फ पहिलोस्थान हासिल गर्ने खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रोस्थान हासिल गर्नेले १३ हजार ३३४ रुपैयाँ पाउनेछन् । यस्तै, तेस्रोस्थान हासिल गर्ने खेलाडीले छ हजार ६६७ रुपैयाँ पाउनेछन् । 

यस्तै, सोही १३ दशमलव पाँच किमि दौडको स्थानीय तर्फको विधामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १३ हजार ३३४ रुपैयाँ, नौ हजार ३३४ र ६ हजार ६६७ रुपैयाँ प्राप्त गर्नेछन् । 

यस्तै, चार दशमलव पाँच किमि खुला जुनियर (१६ वर्षमुनि) र ४५ वर्षमाथि उमेर समूहमा पहिलो हुने खेलाडीले ८ हजार, दोस्रोले ५ हजार ३३४ र तेस्रोले २ हजार ६६७ रुपैयाँ प्राप्त गर्नेछन् ।

भेट्रान खुलातर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले १० हजार ६६७, ८ हजार र ५ हजार ३३४ रुपैयाँ पाउनेछन् । यसैगरी स्थानीय ज्येष्ठ नागरिक पुरुष र महिलातर्फको विधामा पहिलो हुने खेलाडीले १६ हजार, दोस्रोले १० हजार ६६७ र तेस्रो हुने खेलाडीले ८ हजार रुपैयाँ पाउनेछन् । 

प्रतियोगितामा सहभागिता जनाउने खेलाडीले आगामी माघ ३ गतेसम्म नामावली दर्ता गराइसक्नुपर्ने आयोजकले जनाएको छ ।

रासस

Link copied successfully