मदन भण्डारी इन्डो नेपाल भलिबलमा गल्कोटको लज्जास्पद हार

पुस २१, २०८१

घनश्याम गौतम

Galkot's embarrassing loss in Madan Bhandari Indo Nepal Volleyball

बुटवल — बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको आइतबार भएको दोस्रो खेलमा गल्कोट भलिबल क्लब बागलुङले लज्जास्पद हार बेहोरेको छ । 

गुजरात स्टेट भलिबल भारतले सोझो सेटमा गल्कोटलाई पराजित गरेको हो ।  यसअघिका दुई खेल गुमाएको गल्कोटले गुजरातसँग झनै कमजोर खेल प्रस्तुत गरेको छ । ४ इरानी र १ भारतीय खेलाडीसहित खेलिरहेको गल्कोटले गुजरातसँग यस अघिका खेलहरुमा जत्तिको पनि प्रदर्शन गर्न सकेन । सर्विस, स्पाईक, प्लेसिङ र फिल्डिङ सबैमा गल्कोट कमजोर बन्यो । त्यसको बदलामा गुजरातले तीनवटै सेट २० भन्दा कम अंकमा राख्दै जित हासिल गर्‍यो । 

गुजरातले गल्कोटलाई २५–१८, २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गरेको हो । गल्कोटका प्रशिक्षक सुरेन्द्र केसीले लगातार दुई सेट गुमाएपछि तेस्रो सेटमा पूरै नेपाली खेलाडीलाई अघि सारेका थिए । त्यो प्रयास पनि गुजरातका खेलाडीले बिफल तुल्याइदिए । 

गल्कोटबाट खेलिरहेका इरानी खेलाडी मोविन श्रीले यस अघिका खेलहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए । तर, आइतबारको खेलमा उनमा पनि त्यो कुशलता र उत्साह देखिएन । 

आइतबारको पहिलो खेलमा मणिमुकुन्द विजयी भएको छ । प्रतियोगितामा सोमबार नेपाल पुलिस क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र तथा त्रिभुवन आर्मी क्लब र एपीएफबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । सोमबारका यी दुई खेलसँगै समूह चरणका खेल सकिने छन् । मंगलबारदेखि सेमिफाइनल खेल हुनेछ । 

समूह ‘ए’मा रहेका चार टिममध्ये नेपाल प्रहरी र मणिमुकुन्द भलिबल क्लबले २ र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले १ खेल जितेका छन् । रुकुम पश्चिमले दुवै खेल गुमाएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले २ र मणिमुकुन्दले १ हार बेहोरेका छन् । 

त्यस्तै समूह ‘बी’मा रहेका नेपाल आर्मी क्लबले २ खेल जितेको छ । दुई खेल खेलेका विभागीय टिम एपीएफले १ र गुजरात स्टेट भलिबल भारतले २ खेल जितेको छ । इरानी र भारतीय खेलाडीसहित खेलेको गल्कोट भलिबल क्लबले भने तीन खेलमै हार बेहोरेको छ । खेल लिगकम नकआउटमा संचालन भइरहेको छ । पुस २४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी छन् । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully