प्रधानमन्त्री कप महिला क्रिकेटमा बैतडी फाइनल प्रवेश

पुस २०, २०८१

मनोज बडू

Prime Minister's Cup Women's Cricket Baitadi final entry

दार्चुला — प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनौट क्रिकेट प्रतियोगितामा बैतडी फाइनलमा प्रवेश गरेको छ । शनिबारको दोस्रो खेलमा डोटीलाई हराउँदै बैतडीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो खेलमा अछामलाई १० विकेटले हराएको बैतडीले दोस्रोमा डोटीमाथि एक सय ५० रनको फराकिलो जित निकाल्दै समूह बी को विजेता बन्दै फाइनलमा पुगेको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले बताए । उपाधिका लागि बैतडीले अब समूह ए को विजेतासँग खेल्नेछ । 

जोशीका अनुसार बैतडीले दिएको एक सय ८७ रनको लक्ष्य पछ्याएको डोटी ११.२ ओभरमा ३६ रनमा समेटियो । जसमा अञ्जली खड्काले सर्वाधिक १५ रन बनाए पनि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा बैतडीका कप्तान रितु कनौजियाले ५, करिश्मा थापाले ३, निर्मला रावलले २ विकेट लिइन् ।

यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा एक सय ८६ रन बनायो । जसमा रितु कनौजियाले ४५, ममता बोहराले ३४, करिश्मा थापाले २१ रनको योगदान गरिन् ।

डोटीका लागि जानकी मलासी र गौरी सापकोटाले ३/३ विकेट लिए । प्रतियोगिताको यो खेलमा बैतडीकी रितु प्लेयर अफ द म्याच भइन् । समूह ए का खेलहरू सोमबारदेखि हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष जोशीले बताए ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully