काठमाडौँ — उसुका विजय सिन्जाली र करातेकी एरिका गुरुङ १९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड–२०८० मा सर्वोत्कृष्ट खेलाडी अवार्ड जित्न सफल भएका छन् ।
पुरुषमा विजय र महिलामा एरिका सर्वोत्कृष्ट हुँदै १–१ लाख रुपैयाँ जित्न सफल भए । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा तार्केश्वर नगरपालिकाको मनमैंजु मन्दिर हातामा शनिबार भएको कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको थियो । उनीहरू दुवै आफ्नो खेलबाट वर्षको खेलाडी हुँदै सर्वोत्कृष्ट भएका हुन् ।
प्रतिभाशाली खेलाडी अवार्डबाट तेक्वान्दोका अश्विन राउत र कबड्डीकी मानमति विष्ट पुरस्कृत भए । दुवैले ट्रफीसहित ५०–५० हजार पाए । तेक्वान्दोकी पलेशा गोबर्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडी भइन् । उनले अवार्डसहित १५ हजार रुपैयाँ पाइन् ।
गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट एथलेटिक्सका रघुराज वन्त र एनएनआईपीए खेल पत्रकारिता पुरस्कारबाट हाम्रो खेलकुद र न्युज एजेन्सी नेपालकी सरिता श्रेष्ठ सम्मानित भए । दुवैले प्रशंसापत्रसहित ३५–३५ हजार रुपैयाँ पुरस्कार पाए ।
त्यसबाहेक विभिन्न २९ खेलका खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए । १९ औं एसियाली खेलकुदमा नेपालबाट प्रतिनिधित्व गरेको खेललाई आधार मानेर अवार्ड प्रदान गरिएको खेलाडी संघले जनाएको छ ।
आर्चरीका योगेन्द्र शेरचन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, बास्केटबलका विजय बुर्जा, बक्सिङका चन्द्रबहादुर थापा, क्यानोइङका गणेश गुरुङ, क्रिकेटका कुशल मल्ल, साइक्लिङकी उषा खनाल, डान्स स्पोर्ट्सका श्याम महर्जन, इ–स्पोर्ट्सका साहस भण्डारी, फेन्सिङका राजेन्द्र गजुरेल, फुटबलकी प्रीति राई, गल्फका सद्भाव आचार्य आफ्नो खेलमा वर्ष खेलाडी भए ।
ह्यान्डबलकी संगीता चौधरी, जुडोका विकास बिक, कबड्डीकी मानमति विष्ट, करातेकी एरिका गुरुङ, रग्बीका पुजन फेवाली, सुटिङका विपेश खड्का, स्क्वासकी स्वस्थानी श्रेष्ठ, पौडीका एलेक्जेन्डर शाह, टेबलटेनिसकी इभाना थापा, तेक्वान्दोका अश्विन राउत, टेनिसका निशान श्रेष्ठ, ट्रायथलनकी श्रेबी महर्जन, भलिबलकी निरुता ठगुन्ना, भारोत्तोलनकी विद्या राई, कुस्तीका सुरेश चुनारा र उसुका विजय सिन्जाली वर्ष खेलाडी भएका थिए । उत्कृष्ट सबैले ट्रफीसहित जनही १० हजार पाए । यिनै खेलाडीमध्येबाटै सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडी अवार्ड प्रदान गरिएको हो ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, स्थानीय आयोजक तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायतले पुरस्कृत गरे । अर्को संस्करणको स्थानीय आयोजक बनेपा नगरपालिका हुने कार्यक्रममा जानकारी दिइयो ।
