पूर्वकप्तान पारस खड्का अहिले क्यानका सचिव छन्, क्रिकेटको सर्वोच्च निकायमा उनी आएपछि दुईदिवसीय ट्रफी हुन लाग्नु एउटा संयोग मात्र होइन
काठमाडौँ — रातो बल र सेतो पोसाक नेपाली क्रिकेटको नयाँ आयाम हो,’ तत्कालीन कप्तान पारस खड्काले १० वर्षअघि श्रीलंका उड्नुअघि भनेका थिए । बंगलादेशमा ट्वान्टी–२० विश्वपकप खेलेर आएको वर्ष सन् २०१४ मा नेपालले श्रीलंकामा बहुदिवसीय खेल खेल्ने तयारी थियो ।
तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको पहलमा श्रीलंकामा स्थानीय टोलीसँग तीनदिवसीय खेल खेल्न नेपाली टोली कोलम्बो उड्न लाग्दा पारसले यो भनाइ राखेका थिए । विश्वकप खेलेर आएकाले धेरैको नजर नेपाली क्रिकेटमा परेको थियो । नेपाल भने ट्वान्टी–२० विश्वकपभन्दा माथि उठ्न चाहन्थ्यो ।
ट्वान्टी–२० विश्वकपपछि नेपालको लक्ष्य एकदिवसीय विश्वकप थियो । त्यसका लागि घरेलु क्रिकेट संरचना राम्रो हुन आवश्यक थियो । तर, नेपालमा मुस्किलले एउटा एकदिवसीय घरेलु प्रतियोगिता हुने गरेको थियो । त्यो पनि २०१४ पछि केही वर्षका लागि रोकियो ।
बहुदिवसीय क्रिकेट त छँदै थिएन । यस्तोमा नेपालले श्रीलंकामा तीनदिवसीय खेल खेलेको थियो । नेपालले श्रीलंकामा राम्रो खेल्यो । शरद भेषावकर शतक नजिक पुगेका थिए । यसले नेपाली खेलाडीको आत्मविश्वास बढ्दै थियो । तर, फेरि नेपाललाई बहुदिवसीय क्रिकेट खेल्न वर्षौं लाग्यो । न त यसबीच नेपालले एकदिवसीय विश्वकप क्रिकेट खेल्न नै सक्यो ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसपालि दुईदिवसीय क्रिकेट ब्युँत्याउने जमर्को गरेको छ । यसलाई जय ट्रफीको नाम दिइएको छ, आइतबार सुरु हुँदै छ । क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको नाममा जय ट्रफी क्रिकेट ल्याइएको हो । जय ट्रफी र दुईदिवसीय क्रिकेट नेपालका लागि नयाँ भने होइन । २०३७ देखि २०५७ सालसम्म जय ट्रफीको नामबाट क्यानले राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने गरेको थियो । यस प्रतियोगिताको सुरुआती संस्करण दुईदिवसीय हुने गर्दथ्यो ।
क्यानले सन् २००७ मा पुनः दुईदिवसीय क्रिकेट सञ्चालनमा ल्याएको थियो । नेपालगन्ज, भैरहवा र वीरगन्जमा प्रतियोगितामा भइरहेको समयमा मधेश आन्दोलन चर्किएको थियो, जसका कारण प्रतियोगिता रोकिन पुग्यो । फेरि दोहोर्याएर हुन सकेन । अहिले क्यानले जनकपुर र वीरगन्जमा जय ट्रफी दुईदिवसीय क्रिकेट आयोजना गर्न लागेको हो ।
पारस अहिले आफैं क्यानको सचिव छन् । उनी नेपाली क्रिकेटको सर्वोच्च निकायमा आएपछि नै दुईदिवसीय ट्रफी हुन लाग्नु एउटा संयोगमात्र होइन । पारस आफैंले राष्ट्रिय टोलीबाट आफ्नो पहिलो खेल तीनदिवसीय क्रिकेटबाट खेलेका थिए । सन् २००४ मा मलेसियाविरुद्धको यो खेललाई प्रथम श्रेणीको मान्यता थियो । तर, पारसले तीनदिवसीय अन्तर्राष्ट्रियको केवल दुई खेलको मात्र अनुभव गर्न पाएँ ।
अन्तर महादेशीय तीनदिवसीय कपको एसिया क्षेत्र छनोट भइरहेको सयममा पारसले आफ्नो ‘डेब्यु’ गरेका हुन् । परेश लोहनी, महबुब आलमले तीनदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पनि बनाएका छन् । तर, अन्तर्राष्ट्रिय क्रिकेटमा यसको स्पष्ट रेखाचित्र नहुँदा र प्रदर्शनका आधारमा पछाडि पर्दा नेपाल बहुदिवसीय क्रिकेट खेल्नबाट वञ्चित रह्यो ।
यसको असर नेपाली राष्ट्रिय टोलीसम्म पुग्यो । नेपालले ५० ओभरको अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नतिजामुखी प्रदर्शन गर्न सकेन । एकदिवसीयमा आफ्नो प्रदर्शन बलियो बनाउने आसमा नेपालले २०१४ मा श्रीलंका भ्रमण गर्यो ।
सन् २०१९ मा इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) नेपाल भ्रमणमा आउँदा नेपाली राष्ट्रिय टोलीले पुनः तीनदिवसीय क्रिकेटको अनुभव गर्ने मौका पाएको थियो । तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहितका खेलाडीले एमसीसीविरुद्ध खेलेर प्रथम श्रेणीको क्रिकेटमा डेब्यु’ गरेका थिए भने वर्तमान कप्तान रोहित पौडेल टोलीमा रहे पनि प्लेयिङ ११ मा परेका थिएनन् । त्यसपछि नेपालले पहिलो पटक बहुदिवसीय क्रिकेट आयोजना गर्न लागेको हो ।
यस्तो छ संरचना
गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता आयोजना भएको थियो । शीर्ष चार टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मधेश प्रदेश र बागमती प्रदेशले अहिले जय ट्रफी दुईदिवसीय क्रिकेटमा खेल्नेछन् । नेपाल एपीएफ क्लब प्रधानमन्त्री कपको शीर्ष चारभित्र
नपरेका कारण नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित आसिफ शेख, सन्दीप जोरालगायतले जय ट्रफी दुईदिवसीय क्रिकेट खेल्न पाउने छैनन् । राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ । फाइनल भने तीनदिने हुनेछ । त्यस अर्थमा नेपालको यो पहिलो तीनदिवसीय खेल हुनेछ ।
हरेक दिन १ सय १ ओभरको खेल हुनेछ । प्रत्येक दिनको खेल पौने ७ घन्टाको हुनेछ । बिहान ९ देखि ११.३० बजेसम्म पहिलो सत्र, त्यसपछि १२.१० सम्म भोजन ब्रेक हुनेछ । त्यसपछि दिउँसोको सत्र सुरु हुनेछ । यो दिउँसो २ बजेर २५ मिनेटसम्म चल्नेछ । त्यसपछि चिया ब्रेक हुनेछ । दिउँसो २ बजेर ४५ मिनेटबाट तेस्रो सत्रको खेल सुरु हुनेछ । यो ४ः४५ बजेसम्म चल्ने छ ।
तराईमा हुस्सु चलिरहेका कारण बिहानी सत्र सुरुआतमा ढिलाइ र अन्तिम सत्रका खेल निर्धारित समयभन्दा अगाडि नै रोकिन सक्ने सम्भावना छ । पहिलो इनिङ्समा एउटा टोलीले ६० ओभरमात्र खेल्न पाउने छ । त्यसभन्दा अगाडि नै पनि कुनै टोलीले इनिङ्स समाप्तिको घोषणा गर्न पाउने छ । दोस्रो इनिङ्समा जति पनि ब्याटिङ गर्न पाउने प्रावधान रहेको अन्तर्राष्ट्रिय अम्पायर विनयकुमार झाले बताए ।
अंकका आधारमा प्रतियोगिताको शीर्ष टोली छानिने छ । रन बनाउँदा र विकेट लिँदा आएको अंकलाई बोनस अंकको रूपमा राखिएको छ । पहिलो इनिङ्समा हरेक टोलीले प्रति २५ रन आधा अंक, प्रति ५० रन एक अंक बोनस पाउनेछ ।
त्यस्तै प्रतिविकेटको आधा अंक र २ विकेट बराबर एक बोनस अंक हुनेछ । दोस्रो इनिङ्समा ब्याटिङमा अधिकतम ४ अंकमात्र पाउने छ । अर्थात २ सयभन्दा बढी रन बनाए पनि त्यसको कुनै बोनस अंक आउने छैन । दोस्रो इनिङ्समा बलिङमा सबै ५ बोनस अंक पाउन सकिने प्रावधान छ ।
फाइनल भने तीनदिवसीय भएकाले नियम केही फरक छ । यसमा पहिलो इनिङ्सको सीमितता ८० ओभरको हुनेछ । दोस्रो इनिङ्समा जति पनि ब्याटिङ गर्न पाउनेछ ।
जय ट्रफीलाई एकदमै मिस गर्नेछु
- रोहित पौडेल, कप्तान, राष्ट्रिय क्रिकेट टोली
दुईदिवसीय क्रिकेट नेपालका लागि निकै महत्त्वपूर्ण छ । लामो संरचनाको खेलले हामीलाई धैर्य भएर कसरी लामो समयसम्म खेल्न सकिन्छ भनेर सिकाउँछ । यसले टी–२० र ५० ओभरको खेलमा पनि राम्रो र सजिलोसँग खेल्न मदत गर्छ । स्किल सेटको कुरा गर्ने हो भने ब्याटिङलाई कसरी अगाडि लिएर जाने भनेर सिकाउने लामो संरचनाको खेलले नै हो । धैर्य भएर दिनभर कसरी खेल्ने भनेर सिक्ने यस्तै संरचनामा हो ।
बलरहरूका लागि पनि लामो संरचना खेल्नु निकै महत्त्वपूर्ण हुन्छ । किनभने दुईदिवसीयमा एउटै एरियामा बल फालिरहनुपर्छ । बलरहरूले लेन्थमा बल कसरी फाल्ने भनेर सिक्न पाइन्छ यो संरचनामा । लामो संरचनाको खेलले छोटो संरचनामा भिज्न निकै मदत गर्छ । अहिले हुन लागेको जय ट्रफीले आउने दिनमा नेपाललाई टी–२० र एकदिवसीयमा राम्रो खेल्न निकै सहयोग गर्ने विश्वास मैले लिएको छु ।
व्यक्तिगत हिसाबमा भन्ने हो भने जय ट्रफीलाई एकदमै मिस गर्नेछु । अहिलेसम्म मैले कुनै बहुदिवसीय क्रिकेट खेलेको छैन । मेरो इच्छा बहुदिवसीय क्रिकेट खेल्ने छ । यो भन्दाभन्दै प्रधानमन्त्री कपको महत्त्वपूर्णता पनि त्यति नै हुन्छ । सबै खेलाडीले प्रधानमन्त्री कपलाई मनैबाट लिने हो भने भोलिको दिनमा जय ट्रफी दुईदिवसीय क्रिकेट खेल्न पाइन्छ ।
किनभने यो खेल्न पहिलो प्रधानमन्त्री कपमा शीर्ष चार टोलीभित्र पर्नुपर्यो । यसले प्रधानमन्त्री कपको महत्त्वलाई बढाउनुका साथै यसले टोलीहरूलाई उच्च प्रतिस्पर्धामा उतारेको हुन्छ । जय ट्रफीमा खेल्न लाग्नुभएका खेलाडीलाई शुभकामना दिन चाहन्छु, यो प्रतियोगितामा राम्रो गर्नुहोला ।
