अबको खेल गुजरात स्टेट भलिबल र एपीएफबीच, त्रिभुवन आर्मी क्लब र गल्कोट भलिबल क्लबबीच हुने
बुटवल — बुटवलमा जारी मदन भण्डारी गोल्ड कप इन्डो-नेपाल पुरुष भलिबल च्याम्पियनसिपको शनिबारको पहिलो खेलमा नेपाल प्रहरी विजयी भएको छ । आज बिहानदेखिको बुटवलका चिसो मौसममा नेपाल पुलिस क्लबले मणिमुकुन्दलाई ३–१ को सेटमा पराजित गरेको हो ।
शनिबारको खेलमा नेपाल पुलिस क्लबले २५–१५, २०–२५, २५–२० र २५–१८ को सेटमा जित निकालेको हो । पहिलो सेटमा पुलिसले सहजै जितेको थियो । मणिमुकुन्दका खेलाडीले तालमेल मिलाउने सकेनन् । दोस्रो सेटमा पुलिसका केही सर्भिसले जाली पार गर्न नसकेपछि मणि मुकुन्दलाई सहज बनेको थियो । दोस्रो सेट मणि मुकुन्दले जितेपछि नेपाली प्रहरीका खेलाडी संयमित बनेका थिए ।
तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । बराबरीको स्थितिमा खेलिरहेको मणि मुकुन्दले १५ औँ अङ्कपछि लय गुमाएको थियो । नेपाल पुलिसका स्पाईकरद्वय रविन चन्द र सन्जुविक्रम शाहले कुनै मौका चुकाएनन् । रविन चन्दका कुनै पनि स्पाईक खेर गएनन् ।
त्यसले तेस्रो र चौंथो सेटमा नेपाल पुलिसलाई जित निकाल्न सहज भएको थियो । शनिबारको दोस्रो दोस्रो खेल गुजरात स्टेट भलिबल र एपीएफबीच र तेस्रो खेल त्रिभुवन आर्मी क्लब र गल्कोट भलिबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
समूह ‘ए’ मा रहेका चार टिम मध्ये नेपाल प्रहरीले २, मणि मुकुन्द र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले समान १/१ खेल जितेका छन् । रुकुम पश्चिमले दुवै खेल गुमाएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी र मणिमुकुन्दले समान १/१ हार बेहोरेका छन् ।
त्यस्तै समूह ‘बी’मा रहेका नेपाल आर्मी क्लब र एपीएफले १/१ खेल जितेका छन् भने गुजरात स्टेट क्लब भारत र गल्कोट भलिबल क्लबले १/१ हार व्यहोरेका छन् । पुस २४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी रहेका छन् ।
