काठमाडौँ — स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ ।
काठमाडौं स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा शनिबार सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जित्यो । उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए जो प्लेयर अफ द फाइनल पनि घोषित भए । यस्तै प्रदिप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाए ।
ओपनरद्वय आश्रय र प्रदिपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गरे । ग्रेट हिमालयका नितेश कुमार र सन्दिप पराजुलीले १/१ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेट क्षतिमा ५८ रन बनायो । उसको लागि सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाए । रुपेश श्रीवास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाए । किंग्सको बलिङमा आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले १/१ विकेट लिए ।
उपाधिसहित किंग्स क्रिकेट एकेडेमीले १ लाख रुपैयाँ पायो । उपविजेता ग्रेट हिमालयले ४० हजार रुपैयाँ पायो । प्लेयर अफ द सिरिज घोषित टिम बिडीएमएसका निरज भट्ट घोषित भए । जसले १० हजार रुपैयाँ पाए ।
यस्तै उत्कृष्ट बलर पनि निरज नै घोषित भए भने उत्कृष्ट ब्याटर टिम बिडीएसका जतिन थापा घोषित भए । उत्कृष्ट ब्याटर र बलरले समान ५ हजार रुपैयाँ पाए ।
