बुटवल — बुटवलमा जारी मदन भण्डारी गोल्ड कप इन्डो नेपाल पुरुष भलिबल च्याम्पियनसिपको शनिबारको दोस्रो र तेस्रो खेलमा गुजरात भलिबल स्टेट भारत र त्रिभुवन आर्मी क्लबले सहज जित निकालेका छन् । गुजरातले विभागीय टिम एपीएफलाई र त्रिभुवन आर्मीले गल्कोट भलिबल क्लबलाई पराजित गरेका हुन् ।
पहिलो सेट जितेको एपीएफ त्यसपछिका तीनवटै सेटमा लज्जास्पद अंकमै रोकिएको थियो । ‘बी’ पोलबाट खेलिरहेको गुजरातले एपीएफलाई २१–२५, २५–१८, २५–१५, २५–१८ मा हराएको हो ।
गुजरात प्रतियोगिताको दोस्रो दिन भएको खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । दुई खेल विभागीय टिमसँग खेलेको गुजरातले एपीएफसँग सहज जित निकालेको हो । इन्डोर मैदानमा खेल्ने गरेको गुजरातका खेलाडीलाई सुरुको प्रतिस्पर्धामा कठिन देखिएको थियो । तर, शनिबारको एपीएफसँगको खेलमा उनीहरूले धेरै सुधार गरेका थिए ।
शनिबार बुटवलको रामनगरस्थित खेल मैदानमा घाम लागेको थिएन । कठ्याङ्गि्रँदो चिसोमा पनि गुजरातले खेललाई लयमा राखेको थियो ।
त्यस्तै तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सहज जित निकालेको छ । गल्कोट भलिबल क्लबसँग भएको प्रतिस्पर्धामा २५–२१, २५–२३ र २५–१९ को सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबले प्रतियोगिताको दोस्रो जित निकालेको हो । ४ इरानी र १ भारतीय खेलाडीसहित प्रतिस्पर्धामा उत्रिएको गल्कोटका खेलाडीले शनिबार उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
इरानी खेलाडी मोविन हुसेन र भारतीय खेलाडी विष्णुले उत्कृष्ट खेले पनि त्यसले गल्कोटलाई जित दिलाउन सकेन । इरानी खेलाडी मोविनको अधिकांश सर्विस र स्पाइक गल्कोटका लागि अंक थप्ने अवसर बनिरहेको थियो । गल्कोटबाट खेलिरहेका इरानी खेलाडी मोविन प्रतियोगिताका दर्शकका प्रिय बनिरहेका छन् ।
विदेशी खेलाडीसहितको टिमसँग प्रतिस्पर्धामा उत्रिएको आर्मीका खेलाडीले पाएको कुनै पनि मौका चुकाएनन् । आर्मीका धनबहादुर भट्ट, धनपति कुँवर, दुर्गा महतो, दुर्गा खड्का, सरन सोमारीले राम्रो खेल प्रदर्शन गरेका थिए । दुर्गाको तालमेलमा धनबहादुरले पाएका हरेक मौकालाई अंकमा परिणत गरेका थिए ।
आइतबार मणिमुकुन्द भलिबल क्लब र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी तथा गुजरात भलिबल स्टेट र गल्कोट भलिबल क्लबबीच हुने मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।
