पर्सा — प्रिन्स ११ सेढवा भारत बिहारलाई ५ विकेटले पराजित गर्दै बाबा ११ पोखरियाले छैठौं पोखरिया मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि उचालेको छ ।
पोखरिया नगरपालिकास्थित रानिगन्ज खेल मैदानमा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा बाबा ११ ले जितसँगै निरन्तर पाँचौ पटक ट्रफी उचालेको हो । करिब ५ हजार नेपाली र भारतीय दर्शकको उपस्थितिमा भएको फाइनल प्रतिस्पर्धामा टस जितेर प्रिन्स ११ भारतले पहिले व्याटिङ गर्ने निर्णय लियो । उसले पुरै ओभर खेलेर ९ विकेट क्षतिमा १ सय ९१ रनको स्कोर खडा गर्यो । जसमा सेन्टी कुमारको ६२, आकाश कुमारको ३७ र गोलु कुमारको २२ रनको उल्लेखनीय योगदान रहेको थियो ।
बाबा ११ का बिट्टु यादवले सर्वाधिक ३ विकेट लिए । मुलायम सिंह यादव, अंशु मिश्रा र पोलार्ड कुमारले २/२ विकेट लिए ।
जवाफमा घरेलु मैदानमा लक्ष्य पछ्याएको बाबा ११ ले १६ ओभर ३ बलमा ५ विकेट क्षतिसँगै सहजै लक्ष्य भेट्टायो । उसका सचिन यादवले सर्वाधिक ७५ रन बनाए भने मुलायम सिंह यादवले २७ रनको योगदान दिए । प्रिन्स ११ का बलहरुमा आर्यन कुमारले २, आकाश कुमार, मुकेश कुमार र उमर मियाँले १/१ विकेट लिए ।
फाइनल खेलको उत्कृष्ट खेलाडी बाबा ११ पोखरियाका सचिन यादव, उत्कृष्ट बलर मुलायम सिंह यादव, उत्कृष्ट व्याट्म्यान बजरंगी कुमार तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडी भने प्रिन्स ११ का इर्शाद खान घोषित भए । उनीहरुलाई जनही ६/६ हजार नगद तथा मेडल प्रदान गरियो ।
उपविजेता प्रिन्स ११ लाई पोखरिया नगरपालिकाकी उपमेयर रुबी ठाकुरले ६० हजार रुपैयाँ नगद तथा उपविजेताको ट्रफी प्रदान गरिन् । विजेता बाबा ११ टिमलाई पोखरिया नगरपालिकाका मेयर प्रधुम्नप्रसाद चौहानले नगद १ लाख २० हजार तथा ट्रफी प्रदान गरे । प्रतियोगितामा नेपाल र भारतका गरी ८ टिम सहभागी थिए ।
