त्रिवेणी कप : एपीएफ र बीवाईसी फाइनलमा

पुस १९, २०८१

आश गुरुङ

Triveni Cup: APF and BYC in finals

लमजुङ — लमजुङको बेंसीसहरमा भइरहेको ३२ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा पहिलो पटक भाग लिएको एपीएफ क्लव र बुद्ध युवा क्लब (बीवाईसी) भोटेओडार फाइनलमा पुगेको छ । सहजी खेलमैदानमा शुक्रबार एपीएफले आयोजक त्रिवेणी युवा क्लबलाई २–१ ले हरायो । एपीएफले यसअघि नवलपुरमा सम्पन्न सातौं राइनो गोल्डकप उचालेको थियो ।

२७ र २८ औं त्रिवेणी कप जितेको आयोजकविरुद्ध एपीएफका कप्तान हरि कार्कीले खेलको २० औं मिनेटमा गोल गरेका थिए । त्रिवेणीका सुनील खड्काले दोस्रो हाफको २२ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । ४३ औं मिनेटमा एपीएफका प्रदीप लामाले गरेको गोल निर्णायक बन्यो । प्रदीपको गोलसंख्या ६ पुगेको छ । उनी म्याद अफ द म्याच भए ।

निकै रोमाञ्चक बनेको दोस्रो खेलमा बुद्ध युवा क्लबले टोखा भगवती काठमाडौंलाई सडनडेथमा हरायो । निर्धारित अवधिभर कुनै गोल हुन सकेन । टाइब्रेकरमा ४–४ गोल भएपछि सडेन डेथमा बुद्ध युवाले सफलता पायो । सडेन डेथमा टोखाका समीर तामाङको प्रहार भोटेओडारका गोलरक्षक कृशल मोक्तानले रोकेका थिए । बीवाईसीका राजेन्द्र गैरेले निर्णायक गोल गरे । भोटेओडारका गोलरक्षक कृशल मोक्तान म्यान अफ द म्याच भए । फाइनल खेल शनिबार हुनेछ । विजेताले नगद १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ जित्नेछन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully