जनकपुर — नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पुस २१ देखि जनकपुर र वीरगन्जमा दुईदिवसीय जय ट्रफी क्रिकेट प्रतियोगिता हुँदै छ । चार टिमबीच हुने यो प्रतियोगिता माघ ३ सम्म चल्नेछ ।
गत वर्ष सम्पन्न प्रधानमन्त्री कपका शीर्ष चार स्थानमा रहेका टिमबीच टेस्ट संरचनामा जय ट्रफी खेलाइन लागेको हो ।
मधेश प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच जनकपुरको रजौलस्थित प्रस्तावित रामजानकी बहुउद्देश्यीय रंगशाला र वीरगन्जको नारायणी खेल मैदानमा प्रतिस्पर्धा हुनेछ । जय ट्रफीको उद्घाटन जनकपुरमा हुनेछ भने समापन वीरगन्ज गरिने क्यानका मधेश प्रदेश अध्यक्ष सुनिल महासेठले जानकारी दिए ।
उनका अनुसार जय ट्रफीका लागि जनकपुर र वीरगन्जको मैदानको काम लगभग अन्तिम चरणमा पुगेको छ । महासेठले कान्तिपुरसँग भने, ‘पिच र मैदानको काम लगभग सकिएको छ । टेन्टको प्यारापिट, स्टेज र पेभेलियन बनाउनेलगायतका काम पनि भइरहेको छ,’ ३–३ खेल जनकपुर र वीरगन्जमा हुनेछ । अरू खेल दुईदिवसीय हुनेछ भने फाइनल तीनदिवसीय हुनेछ ।
जय ट्रफीका लागि रामजानकी रंगशालाको मैदानलाई स्तरोन्नति गरिएको छ । धनुषा जिल्ला क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डेका अनुसार जय ट्रफीकै लागि यो मैदानलाई तीन महिनादेखि स्तरोन्नति गर्ने काम भइरहेको छ । ‘क्रिकेट मैदान एकैनासको समतल थिएन । धेरै ठाउँमा होचो–अग्लो थियो । त्यसलाई सम्याउने काम भएको छ,’ पाण्डेले भने, ‘पिचलाई ग्रासी बनाइएको छ ।’ जय ट्रफीका लागि जनकपुरको मैदानमा ३ वटा पिच बनाइएको छ ।
‘तीनवटै पिच ग्रासी छ । यो बलर र ब्याटर दुवैका लागि सहज हुने खालको पिच छ,’ उनले भने, ‘ग्रासी विकेट र खेल मैदानको स्तरोन्नति गर्न निकै मिहिनेत पर्यो । सबैको साथ र सहयोगले सम्भव भएको हो ।’ खेलाडीलाई दक्ष बनाउन र प्रतिस्पर्धामा ल्याउन नेपालमा जय ट्रफीअन्तर्गत टेस्ट फर्म्याटमा यो प्रतियोगिता हुन लागेको हो । रातो बल र सेतो पोसाकमा खेलिने जय ट्रफीमा एक दिनमा १ सयभन्दा बढी ओभरको खेल खेलाइने छ ।
जनकपुरमा पहिलो खेल मधेश र बागमती प्रदेशबीच हुनेछ भने दोस्रो खेल बागमती र आर्मी तथा तेस्रो खेल बागमती र पुलिस क्लबबीच हुनेछ । वीरगन्जमा पहिलो खेल आर्मी र पुलिस, दोस्रो खेल मधेश र पुलिस तथा तेस्रो खेल मधेश र आर्मीबीच हुनेछ ।
मधेश प्रदेशका ठूला सहर जनकपुर र वीरगन्जमा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुन लागेकामा क्रिकेटप्रेमीमा उत्साह देखिएको क्रिकेटर आकाश पाण्डेले बताए ।
‘हामी प्रतियोगिता कुरेर बसेका छौं । नेपाल प्रिमियर लिग क्रिकेटमा जनकपुर बोल्ट्सले उपाधि जितेलगत्तै मधेशमै जय ट्रफी हुनु यहाँका क्रिकेट खेलाडीका लागि गौरवको विषय हो,’ आकाशले भने । फाइनल माघ १ देखि ३ सम्म वीरगन्जमा हुनेछ । जुन तीनदिवसीय संरचनामा खेलाइने छ ।
