काठमाडौँ — आर्मीले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बिहीबार विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो चरणको पहिलो खेलमा आर्मीले बागमतीलाई २–० ले हराएको हो । खेलको दुवै गोल विमला चौधरीको नाममा रह्यो ।
यस जितसँगै आर्मीले आफ्नो दाबेदारी पनि प्रस्तुत गरेको छ । विंगर विमलाले प्रत्येक हाफमा एक एक गोल गरिन् । उनले २५ औं मिनेटमा पहिलो गोल गरिन् । विपक्षी गोलरक्षक अगाडि आएको बेला विमलाले गोलको खाता खोलेकी हुन् ।
उनले ७१ औं मिनेटमा हेडबाट दोस्रो गोल थपिन् । सपना लामाको कर्नरलाई विमलाले गोलमा परिणत गरेकी हुन् । दोस्रो चरणमा कुल पाँच टिम रहेका छन् । पहिलो चरणमा शीर्ष पाँचमा रहेका टिमले दोस्रो चरणको यात्रा तय गरेका हुन् ।
बागमती भने पहिलो चरणको छैटौं स्थानमा रहेको थियो । तर पाँचौंमा रहेको कोशीले आर्थिक कारणले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि बागमतीले मौका पाएको हो । शुक्रबार पुलिस र वालिङबीच खेल हुनेछ ।
