बुटवल — बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबलको दोस्रो दिन दुई खेल भएका छन् । तीन खेल हुने गरी टाइसेट सार्वजनिक भए पनि बिहीबारको अन्तिम खेल मैदान चिसो भएपछि स्थगित गरिएको छ ।
बुटवल उपमहानगरपालिका–१० स्थित रामनगर खेल मैदानमा बिहीबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले गुजरात प्रदेश भलिबल एसोसिएसन, भारतलाई ३–१ को सेटमा पराजित गरेको हो । आर्मीले खेलको पहिलो सेट २२–२५ ले हार्न पुगेको थियो । त्यसपछिको दोस्रो सेट २९–२७, तेस्रो र चौथो सेट क्रमश २५–२१ र २५–२२ ले जितेको हो । पहिलो सेटमा सुरुवातबाटै पछाडि परेको आर्मीले दोस्रो सेटको खेलमा भने पुनरागमन गर्दै जित हात पारेको हो ।
नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका धनपति कुँवर, दुर्गाबहादुर खड्का, धनबहादुर भट्ट, सरन सामारी, दुर्गा महतोसहित मैदानमा उत्रिएको आर्मीले भारतीय खेलाडीका सर्भिसलाई रिसिभ गर्न नसक्दा अंक धेरै गुमाएको थियो । २३–१९ अंकका साथ जित नजिक पुगेको दोस्रो सेटमा आर्मीका खेलाडीले लगातार अंक गुमाउन पुग्दा खेल खेल २९–२७ मा पुगेको थियो । खेलको तेस्रो सेटको सुरुवातमा पनि आर्मीले कमजोर प्रदर्शन गरेको थियो ।
जेहान मल्लिकको नेतृत्वमा रहेको गुजरातले आर्मीका स्पाइकरलाई चल्न नदिएर खेलको सुरुवातमै ६–० को अग्रता लिएको थियो । ६ अंकले पछाडि परेपछि आर्मीले पहिलो टाइम आउट लिएको थियो । त्यसपछि आर्मीका धनबहादुर भट्ट र सरन सामरीको लगातारको सफल स्पाइक तथा गुजरातका ६ वटा सर्विसले नेट पार गर्न नसक्दा आर्मीले २५–२१ अंकका साथ जित निकाल्न सफल भएको थियो । चौथो सेट २५–२२ मा आर्मीले जित्यो । आर्मीको दोस्रो खेल शनिबार गल्कोट भलिबल क्लबसँग हुनेछ । गुजरात शुक्रवार नेपाल एपीएफ क्लबसँग खेल्नेछ ।
प्रतियोगिताको दोस्रो खेल मणिमुकुन्द भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रबीच भएको थियो । दोस्रो खेलमा मणिमुकुन्द क्लबले रुकुम पश्चिमलाई सोझो सेटमै पराजित गरेको छ । मणिमुकुन्दले रुकुम पश्चिमलाई २५–२१, २५–१५ र २५–२१ मा पराजित गरेको थियो । मणिमुकुन्दका खेलाडीका अगाडि रुकुम पश्चिममा खेलाडीले लय मिलाएर खेल्नै सकेनन् ।
मणिमुकुन्द राष्ट्रिय टिममा खेलिरहेका बाग्लुङ र गुल्मीका खेलाडीसहित मैदानमा उत्रिएको थियो । त्यसका विरुद्ध खेलेको रुकुम पश्चिमबाट यसअघि गण्डकी भलिबलका क्याप्टेन हरि पाण्डेसहितका खेलाडी भए पनि तालमेल मिलाउन नसक्दा सोझो सेटमै पराजित हुन पुगेको थियो । बुटवलको मौसम केही खुलेका बेला भएको खेलमा पनि रुकुम पश्चिमका खेलाडीले कुनै मौका लिन सकेनन् ।
बुटवलको चिसो मौसमकै कारण बिहीबारको अन्तिम एपीएफ र गल्कोट भलिबल क्बलबीचको खेल चौथो सेटमा पुगेर स्थगित भएको छ । खेल मैदानको म्याटमा जमिनमुनिबाट बढी चिसो निस्किएपछि खेलाडी चिप्लिन थालेका थिए । २ सेट जितेको गल्कोट भलिबल क्लब खेल्न तयार हुँदा एपीएफका खेलाडीले मैदान छोडेका थिए । एपीएफका खेलाडी खेल्न तयार नभएपछि स्थगित गरिएको थियो । प्रतियोगिताकी मुख्य रेफ्री चन्द्रवन्दना राईले पूर्वनिर्धारित टाइसेट अनुसारका खेल शुक्रबार हुने र स्थगित खेल कहिले गर्ने भन्ने टुंगो नलागेको बताइन् ।
‘अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ, खासमा आज स्थगित भएपछि लिग अनुसार अन्तिममा नै हुने हो,’ उनले भनिन्, ‘तर, प्राविधिक समस्या भएकाले आयोजक, खेलको प्राविधिक टिम र खेलाडीबीच छलफल गरेर निर्णयमा पुग्ने प्रयासमा छौं ।’ पूर्वप्रकाशित टाइसेटअनुसार शुक्रबार पहिलो खेल आयोजक मदन भण्डारी स्पोट्स
क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र दोस्रो खेल गुजरात स्टेट भलिबल र एपीएफबीच हुनेछ । एपीएफको शुक्रबार पूर्वनिर्धारित खेल पनि रहेकाले एकै दिन दुई खेल खेल्न सक्ने वा नसक्ने खेलाडीबीच छलफलपछि निर्णय लिइने उनले बताइन् ।
पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता छ ।
