काठमाडौँ — आर्सनलले इंग्लिस प्रिमियर लिगमा बुधबार ब्रेन्टफोर्डमाथि ३–१ को पुर्नआगमन जित रच्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । उसले नटिङघम फरेस्टलाई उछिनेको हो । आर्सनलको अब १९ खेलबाट ३९ अंक भएको छ ।
यो शीर्षमा रहेको लिभरपुलसँग छ अंकको दूरी हो । ब्रेन्टफोर्डले घरमा ब्रायन एमबेमोको गोलले १३ औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि आर्सनलका लागि ग्याब्रिएल जेसस, मिखेल मेरिनो र ग्याब्रिएल मार्टिनेलीले गोल गरे ।
सन् २०२५ लागयेता लयमा रहेको आर्सनलको यो पहिलो जित हो । ब्रेन्टफोर्ड भने २४ अंकमा १२ औं स्थानमा छ । सिजनको सुरुमा राम्रो खेलेको ब्रेन्टफोर्ड आफ्नो घरेलु मैदान कम्युनिटी स्टेडियममा लगातार दोस्रो खेल गुमाएको छ ।
जितपछि आर्सनलका व्यवस्थापक मिखेल आर्टेटाले भने, ‘आज गाह्रो प्रतिद्वन्द्वीमाथि जित हात पारेको छ । अझ यो पुर्नआगमन जित रहेको हुनाले गाह्रो पनि भयो ।’ यससँगै आर्सनल उपाधि होडमा पनि रह्यो । लिभरपुल ४५ अंकमा शीर्ष स्थानमा छ र उसले १८ खेल खेलेको छ ।
