धुलिखेलमा शनिबार मोटर स्पोर्ट्स फेस्टिभल हुने

पुस १७, २०८१

कान्तिपुर संवाददाता

Motor sports festival will be held in Dhulikhel on Saturday

काठमाडौँ — धुलिखेलमा जनवरी ४ मा हुने माउन्ट एभरेस्ट मोटर स्पोर्ट्स फेस्टिभलको टोटल इनर्जिजले टाइटल स्पोन्सर गर्ने भएको छ ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)ले टाइटल स्पोन्सरसिपका बुधबार (जनवरी १) टोटल इनर्जिजको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ल्युब आयल प्रालिसँग सम्झौता गरेको छ ।

मोटर स्पोर्ट्सको इभेन्टको मुख्य प्रयोजकका लागि लक्ष्मी ल्यूब आयलबाट सेल्स हेड सुबोध थापा र नेपाल अटोमोबाइल्स एसोसिएसनका मिडिया एण्ड ब्रान्डिङ कमिसनका अंकित भण्डारीले सम्झौता पत्रमा हसताक्षर गरेका थिए ।

सेल्स हेड थापाले विश्वप्रसिद्ध टोटल लुब्रिकेन्टले नेपालमा पनि आफ्नो गुण्स्तरीय सेवा र उत्पादन प्रदान गर्दै आएकोमा २०२५ को पहिलो दिनबाट नेपाली मोटर स्पोर्ट्समा पनि अधिकारिक रूपमा प्रवेश पाउँदा खुसी लागेको बताए ।

अटोमोबाइल्सका अंकित भण्डारीले टोटल इनर्जिज जस्तो विश्वस्तरीय ब्रान्डको साझेदारीले नेपाली मोटर स्पोर्ट्सको दायरा फराकिलो पार्न मद्दत पुग्ने बताए । 

टोटल इनर्जिजसहित अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम) तथा वाग्मती प्रदेश खेलकुद विकास परिषद्को विशेष आर्थिक सहयोग रहने फेस्टिभलमा ६० ड्राइभर र ४० प्राविधिकको सहभागिता रहनेछ ।

धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा हुने फेस्टिभलअन्तर्गत अटोक्रस च्यालेन्ज, नेपाल अटो जिमखाना, कार्ट्समान्डु कप, क्वाड बाइक एड्भेन्चर्स र स्टन्ट शो गरी ५ इभेन्ट हुनेछ । फेस्टिभलकै सर्न्दभमा जनवरी ३ मा मार्सल तालिम र इभेन्ट म्यानेजमेन्ट वर्कसप आयोजना गरिने नासाले जनाएको छ ।

कान्तिपुर

Link copied successfully