सुनसान सकियो ललित स्मृति यू–१८ लिग 

खेलाडीले मात्र होइन, रेफ्रीदेखि खेल सञ्चालनको अनुभव बटुल्दै गरेका धेरैलाई यो लिग शिक्षाप्रद

पुस १७, २०८१

हिमेश

Lalit Smriti U-18 League is over

काठमाडौँ — सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा राखिएका तस्बिरमा ललितकृष्ण श्रेष्ठको हाँसो निकै मोहक छ । अब उनको निधन भएको पनि १० वर्ष छुने क्रममा छ । त्यो हाँसो हेर्दा हिजै जस्तो लाग्न सक्छ उनीसँग भेट्नेहरूलाई । अहिले उनको चर्चा किनभन्दा भर्खर उनकै नाममा सञ्चालित ललित स्मृति एन्फा यू–१८ युथ लिग फुटबल टुंगिएको छ ।

नेपाल पुलिस क्लब च्याम्पियन रह्यो, कुल १२ टिमसम्मिलित प्रतियोगितामा । कारण जस्तै रहोस्, प्रतियोगिता धेरै हदसम्म चुपचाप चल्यो र सुनसान सकियो । 

तर, जतिले प्रतियोगिता सुरुदेखि अन्त्यसम्म हेरे, तिनको निष्कर्ष हो, नेपाली फुटबललाई चाहिने भनेकै यस्तै प्रतियोगिता हो । यू–१८ उमेर समूहमा पूरा लिग ढाँचाले ललित स्मृति नाम राख्दै प्रतियोगिता भएको यो नै पहिलो पटक हो । फेरि यो पक्कापक्की लिग रह्यो, एकले अर्कोसँग दुईपल्ट खेल्ने गरी । त्यस अर्थमा २ सय ४१ खेल भएको थियो, डबल राउन्ड रोबिनका आधारमा । हुनुपर्ने त त्योभन्दा एक खेल बढी थियो, तर खुमलटारले आफ्नो अन्तिम खेलमा चाहिँदो खेलाडी नै पुर्‍याउन सकेन । 

अन्यथा प्रतियोगिता राम्रैसँग चल्यो । पुलिस वास्तविक विजेता पनि रह्यो । प्रतियोगिताको अन्तिम खेलमा पुलिस आफैं एनआरटीको हातबाट २–१ ले पराजित भयो । त्यसैले च्याम्पियन हुनुको खुसी केही किरकिर बन्यो । नत्र, पुलिसले त्यसरी खेलेको थियो, जसरी च्याम्पियनले खेल्ने गर्छ । पुलिस २२ खेलमध्ये १५ मा विजयी रह्यो । टोलीले कमाएको कुल अंक रह्यो ४८ । पुलिसको युवा टिम उत्रेको थियो, पुराना खेलाडी भोलानाथ सिलवालको प्रशिक्षकत्वमा । 

लिगको अन्तिम खेलपछि उनको प्रतिक्रिया थियो, ‘अन्तिम खेल जित्न सकेनौं, त्यसैले अलिकति मज्जा आएन । तर च्याम्पियन हुनुको खुसी आफ्नै ठाउँमा छ ।’ पुलिसले आफ्नो यो अन्तिम खेलअघि नै उपाधि जित्ने निश्चित भइसकेको थियो । त्यसैले सायद खेलाडीले केही हेलचेक्र्याँइ गरेर खेले कि ? वा पुलिस टिमलाई नै लागेन, यो खेल जित्नैपर्छ भन्ने । जेहोस्, जितको खुसीमा पनि प्रशिक्षक सिलवाललाई चिन्ता नै थियो । 

उनको भनाइ थियो, ‘प्रतियोगिता त सकियो, पुलिस च्याम्पियन बन्यो । अब मूल प्रश्न हो, यी खेलाडीलाई टिकाउने कसरी हो ।’ उनको यो चिन्ता पुलिस टिममै मात्र सीमित थिएन, यो प्रतियोगिता खेल्ने पूरा टिमका खेलाडीलाई नै लिएर हो । यो प्रतियोगितालाई भनेर तीन सय हाराहारीमा युवा खेलाडी दर्ता भएका थिए । त्यसमध्ये आधाभन्दा बढीले माथिल्लो स्तरमा लिग खेल्नसक्ने क्षमता र कौशलता देखाएका छन् । अझ त्यसमध्ये पनि केहीले त ढिलोचाँडो राष्ट्रिय टिममै स्थान बनाउन सक्नेछन् । 

पुलिसकै कुरा गर्दा पनि यो टिमले धेरै सम्भावना देखाएको छ । सिनियर स्तरमा पुलिस टिमको प्रदर्शन पहिले जस्तो रहन छाडेको छ । तर, यही टिमले पछि अनुभव बटुल्न माथिल्लो स्तरमा खेल्ने हो भने पुलिस फुटबलको पुरानो साख फर्किन सक्छ । प्रशिक्षक सिलवाललाई पनि यस्तै लाग्छ । उनी खेलाडी छँदा पुलिस टिम गजब थियो । तर त्यो ओरालो लाग्नेक्रममा थियो । उनले पुलिसकै लागि तीनपल्ट ‘ए’ डिभिजन लिग पनि जिते । अहिले प्रशिक्षकका रूपमा पहिलो उपाधि हात पारेका छन् । 

उनको चिन्ता धेरै हदसम्म अब हुने सहिद स्मारक लिग ‘बी’ डिभिजनले समाधान गर्न सक्छ । किनभने यो लिग खेल्ने धेरै खेलाडी अब हुने त्यो लिगका लागि अनुबन्ध भइसकेका छन् । प्रतियोगिताको अन्तिम खेल जितेर एनआरटी दोस्रोमा रह्यो । त्यसअघि संकटाले एपीएफलाई ३–१ ले हराएको थियो । एनआरटी विजयी भएपछि संकटा तेस्रो स्थानमा रह्यो । एनआरटी ४७ अंक बटुल्यो भने संकटासँग ४७ अंक रह्यो । कुनै समय उनै ललितकृष्णले नेतृत्व गरेको क्लब थ्रीस्टार ४३ अंकसहित चौथो स्थानमा रह्यो । 

थ्रीस्टारले प्रतियोगिताको सुरुमा राम्रा गर्न सकेन । तर विस्तारै यसले गति लिएको थियो । यो गति राम्रै रह्यो । फेरि एक प्रकारले लिगमा निकै एकपक्षीय खेल भएन, त्यस अर्थमा यो लिग राम्रो रह्यो । यू–१८ का खेलाडीले आखिरमा २२ खेल खेल्न पाउनु भनेको कम्ती ठूलो अवसर होइन । त्रिभुवन आर्मीविरुद्धको खेलमा खुमलटारले जसरी ११ खेलाडी उतार्न सकेन, यस्ता प्रवृत्तिलाई चाहिँ हतोत्साही गर्नैपर्छ । नत्र, नेपाली फुटबल ख्यालख्यालमै मात्र सीमित हुनेछ । 

खेलाडीले मात्र होइन, रेफ्रीदेखि खेल सञ्चालनको अनुभव बटुल्दै गरेका धेरैलाई यो लिग शिक्षा बनेको छ । अब चाँडै हुने भनेको ‘बी’ डिभिजन त हो । त्यसका लागि खेलाडी आपूर्ति गर्ने काम अहिलेको लिग गरेकै हो, यसलाई पनि उपलब्धि नै मान्दा हुन्छ । 

अबको एक–दुई दिनमै यू–१६ लिगले त गति लिने छ नै । अनि महिला लिगको दोस्रो चरण पनि सुरु हुनेछ । यहाँनिर यति महत्त्वका लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) किन ‘हाइप’ सिर्जना गर्न सक्दैन वा चाहँदैन, यो भने सोचनीय विषय भएको जानकारहरू बताउँछन् ।

हिमेश

Link copied successfully