इन्डो-नेपाल भलिबल आजदेखि

विभागीय र भारतीयसहित ८ टिम सहभागी हुने, प्रतियोगिताको प्रधानमन्त्रीले उद्घाटन गर्ने

पुस १७, २०८१

घनश्याम गौतम

Indo-Nepal Volleyball from today

बुटवल — मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता बुधबार सुरु हुँदै छ । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरिएको छ । ७ लाख रुपैयाँ विजेता पुरस्कार रहेको प्रतियोगिताको बुधबार प्रधानमन्त्री एवं मदन भण्डारी स्पोर्टस् एकेडेमीका संरक्षक केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । 

प्रतियोगितामा विभागीय टिमहरूसहित नेपाल र भारतका ८ टिमको सहभागिता रहने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । उपविजेताले ३ लाख ५० हजार, तेस्रो हुनेले १ लाख ७५ हजार, चौंथो हुनेले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले २५ हजार र विधागत उत्कृष्टले जनही १० हजार पाउनेछन् ।

मदन भण्डारी स्पोटर््स एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा हुने प्रतियोगितामा आयोजक एकेडेमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब बुटवल, गल्कोट भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र गुजरात स्टेट भलिबल एसोसिएसन (भारत) ले सहभागिता रहने आयोजकले जनाएको छ ।

गल्कोट भलिबल टिमले ४ इरानी खेलाडी समावेश गरेको छ । पुस २४ सम्म चल्ने प्रतियोगितामा १ करोड १० लाख ६० हजार रुपैंयाँ खर्च हुने र उक्त रकम राष्ट्रिय खेलकुद परिषद, प्रदेश सरकार, स्थानीय तह एवं विभिन्न व्यावसायिक संघसंस्थाबाट जुटाउने प्रयास भइरहेको अध्यक्ष आचार्यले बताए । लिगकम नकआउटमा हुनेछ ।

प्रतियोगिता दौरान २०२६ सालका पहिलो एथलेटिक्स प्रशिक्षक मधुशमशेर राणालाई नगदसहित सम्मान गरिने भएको छ । कार्यक्रममा दक्षिण एसियाका कृतिमानी धावक वैकुण्ठ मानन्धरको पनि सहभागिता रहनेछ । बुटवलबाट एकेडेमीको प्रतियोगिता सुरु भएको र अन्य खेल पनि विभिन्न ठाउँमा आयोजना गर्ने एकेडेमीको तयारी रहेको एकेडेमीकी प्रचार विभाग प्रमुख अमृता अनमोलले बताइन् ।

‘फुटसल, तेक्वान्दो, टेबलटेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्कीका ेप्रतियोगिता पनि हुनेछ,’ उनले भनिन्, ‘मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगितापछि चाइना नेपाल फुटवल सञ्चालन गर्ने तयारी गर्दै छौं ।’ 

प्रतियोगिता सञ्चालन हुने स्थान बुटवल उपमहानगरपालिका–१० स्थित रामनगर मैदानमा झन्डै ३ हजार दर्शक अट्न सक्ने अस्थायी प्यारापिट निर्माण गरिएको र कोर्टमा म्याट बिछ्याइएको उनले बताइन् । खेल पर्यटनलाई पनि प्राथमिकता दिएर आयोजना गरिएको प्रतियोगिताको ट्रफीमा बुद्धको जन्मस्थल लुम्बिनी, लुम्बिनीको अशोक स्तम्भ र मायादेवी मन्दिरको आकृति समेटिएको छ । रामनगरस्थित भलिबल कोर्टमा हुनेछ् ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully