पोखरा — आरभसम्राट हाडा र सुनीरा थापा मंगलबार पोखरामा सम्पन्न २१ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार फाइनलमा आरभले प्रणव मानन्धर र सुनीराले सलोनी तामाङलाई पराजित गरेका हुन् ।
मेन्स सिंगल्समा आरभले प्रणवलाई ६–१, ६–१ ले र महिला सिंगल्समा सुनीराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा हराए । च्याम्पियन दुवैले समान ८० हजार र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गरे ।
३५ वर्षमाथि पूर्व नम्बर एक खेलाडी जितेन्द्र परियारले सन्तोष खत्रीलाई ६–१, ६–२ को सोझो सेटमा हराएर उपाधि जिते । जितेन्द्रले ६० हजार र उपविजेता सन्तोषले ३० हजार जिते । ४५ वर्षमाथि फाइनलमा कमल भण्डारी विजेता बने ।
उनले रोहित सुनुवारलाई ६–०, ६–२ ले हराए । विजेताले ४० हजार र उपविजेताले २० हजार जिते । ५५ वर्षमाथि चन्द्र शाही विजयी भए । उनले फाइनलमा जीवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा हराए । चन्द्रले ३० हजार र जीवनले १५ हजार रुपैयाँ प्राप्त गरे ।
विजेता खेलाडीलाई प्रायोजक माछापुच्छ्रे बैंकका संस्थापक तथा केसी ग्रुपका निर्देशक किरण केसी, नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, संयोजक नवीन चालिसेलगायतले ट्रफी वितरण गरे । प्रतियोगितामा १ सय ४० भन्दा बढी खेलाडीको सहभागिता डाइरेक्टर कुमार अधिकारीले बताए । विजेता भेट्रान्स खेलाडीले बल ब्वाइलाई आफूले प्राप्त पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।
उत्तमकुमार शेर्पा, जित प्रधानले समान १० हजार, हेमराज ढकालले १० हजार, मनोज राणाले ७ हजार ५ सय तथा जोली टार्जनले २ हजार ५ सय रुपैयाँ जुनियर टेनिस खेलाडी सन्दीप बिकलाई हस्तान्तरण गरे । १२ खेलाडी बल ब्वाइको रूपमा खटिएका थिए ।
