बुद्ध जन्मस्थल लुम्बिनी, अशोक स्तम्भ र मायादेवी मन्दिरको आकृति अंकित ट्रफी सार्वजनिक
बुटवल — बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै ट्रफी सार्वजनिक गरिएको हो ।
एमालेका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले ट्रफी सार्वजनिक गरेका हुन् । खेल पर्यटनलाई पनि प्राथमिकता दिएर आयोजना गरिएको प्रतियोगिताको ट्रफीमा बुद्धको जन्मस्थल लुम्बिनी, लुम्बिनीको अशोक स्तम्भ र मायादेवी मन्दिरको आकृति राखिएको छ । ‘यो ट्रफीले खेलसँगै पर्यटन प्रवर्द्धन र विश्वमा लुम्बिनीलाई चिनाउन पनि सहयोग पुग्नेछ,’ प्रदेशका पूर्वमुख्यमन्त्री गिरीले भने, ‘खेल भनेको अनुशासन सिकाउने र नयाँ प्रतिभा जन्माउने विधा हो ।’
७ लाख रुपैयाँ राशि पहिलो पुरस्कार रहेको प्रतियोगिताको बुधबार प्रधानमन्त्री एवं मदन भण्डारी स्पोर्ट्स एकेडेमीका संरक्षक केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । प्रतियोगितामा विभागीय टिमसहित नेपाल र भारतका ८ टिमको सहभागिता रहने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए । ‘आयोजनाको सबै तयारी पूरा गरेर ट्रफी सार्वजनिक गरेका हौं,’ उनले भने, ‘प्रतियोगितामा विजेताले ७ लाख, उपविजेताले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार, चौथोले १ लाख पुरस्कार, सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।’ उत्कृष्ट खेलाडीलाई २५ हजार र विधागत पुरस्कारतर्फ १० हजार रुपैयाँ रहेको उनले बताए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको १६ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी, नेपाल आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मणिमुकुन्द भलिबल क्लब बुटवल, गुजरात स्टेट भलिबल एसोसिएसन (भारत), गल्कोट भलिबल क्लब र रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र सहभागी हुने आयोजकले जनाएको छ । गल्कोट भलिबल टिमले ४ जना इरानी खेलाडी समावेश गरेको छ । पुस २४ सम्म संचालन हुने प्रतियोगितामा १ करोड १० लाख ६० हजार रुपैयाँ खर्च हुने र उक्त रकम राष्ट्रिय खेलकुद परिषद्, प्रदेश सरकार, स्थानीय तह एवं विभिन्न व्यावसायिक संघसंस्थाहरूबाट जुटाउने प्रयास भइरहेको अध्यक्ष आचार्यले बताए । प्रतियोगिता लिगकम नकआउटका आधारमा संचालन हुनेछ ।
प्रतियोगितामा २०२६ सालका पहिलो एथलेटिक्स प्रशिक्षक मधुशमशेर राणालाई नगदसहित सम्मान गर्ने, दक्षिण एसियाका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको पनि सहभागिता रहनेछ । एकेडेमीले आफ्नो स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता बुटवलबाट सुरु गर्ने र अन्य खेल पनि विभिन्न स्थानमा संचालन गर्ने गरी तयारी गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीकी प्रचार विभाग प्रमुख अमृता अनमोलले बताइन् । ‘फुटसल, तेक्वान्दो, टेबलटेनिस, बास्केटबल, फुटबल, फुल कन्ट्याक्ट, कराते, रेस्लिङ, ब्याडमिन्टन, क्रिकेट, शारीरिक सुगठन, रोड रेस, चेस, आर्चरी, कबड्डी, छेलो र हक्की खेलका प्रतियोगिता पनि हुनेछन्,’ उनले भनिन्, ‘मदन भण्डारी गोल्डकप इन्डो नेपाल रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगितापछि चाइना–नेपाल फुटबल पनि संचालन गर्ने तयारी गर्दै छौं ।’
प्रतियोगिता संचालन हुने स्थान बुटवल उपमहानगरपालिका–१० स्थित रामनगर मैदानमा झण्डै ३ हजार दर्शक अट्न सक्ने अस्थायी प्यारापिट निर्माण गरिएको र खेल मैदानमा म्याट बिच्छ्याइएको उनले बताइन् ।
