पाँचथर — चर्च ब्वाइज युनाइटेड क्लबले एघारौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । चर्च ब्वाइजले ए डिभिजन प्रतिस्पर्धी मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै फाल्गुनन्द ट्रफी उचालेको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिमले २–२ गोलको बराबरी खेलेपछि टाइब्रेकरबाट निर्णय लिइएको हो । चर्च ब्वाइजका सुजन डंगोल, रोहन कार्की, छिरिङ लामा, एकराज बुढाथोकी, फाकुन्ले अवायमीले गोल गरे । मछिन्द्रका समीरराज थोकर, सौरभ सुब्बा, सनिश श्रेष्ठ र देवेन्द्र तामाङले गोल गरे । दयानन्द इङ्वामको प्रहार चर्च ब्वाइजका गोलरक्षक कृषल मोक्तानले बचाएपछि मछिन्द्र उपविजेतामा समेटिएको हो ।
खेलको ४५ औं मिनेटमा मछिन्द्रका बिजु भुजेलले गोल गर्दै टिमको खाता खोले पनि दुई मिनेट नबित्दै इन्ज्युरी समयमा समीर तामाङले गोल गरेर खेल बराबरीमा ल्याए । ७८ औं मिनेटमा चर्च ब्वाइजका छिरिङ लामाले दोस्रो गोल गरे । मछिन्द्रका सनिश श्रेष्ठले ८८ औं मिनेटमा गोल गरेपछि खेल बराबरीमा धकेलिएको थियो । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।
चर्च ब्वाइजले ट्रफीसहित १० लाख ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता मछिन्द्रको भागमा ५ लाख ५ सय ५५ रुपैयाँ पर्यो । चर्च ब्वाइजका समीर तामाङ सर्वोत्कृष्ट खेलाडी भए । खेलमा ६ गोल गरेका उनी नै सर्वाधिक गोल भए । उनले इभी स्कुटरसहित १५ हजार पुरस्कार पाए ।
चर्च ब्वाइजका कृषल मोक्तान उत्कृष्ट गोलकिपर, देवेन्द्र तामाङ उत्कृृष्ट डिफेन्डर, दिपेश गुरुङ उत्कृष्ट मिडफिल्डर, सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक भए । सबैले जनही १० हजार पुरस्कार पाए । मछिन्द्रका विजु भुजेल उत्कृष्ट खेलाडी प्लेयर र मछिन्द्रकै सनिश श्रेष्ठ म्यान अफ द फाइनल र आयोजक फिदिम स्पोर्टिङ क्लबका मनीष क्षेत्री राइजिङ प्लेयरमा पुरस्कृत भए ।
