काठमाडौँ — योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेसनल सिरिज २०२४ को एकलतर्फको उपाधि पुरुष एकलतर्फ सूर्यक्ष रावत र महिलातर्फ पारुल चौधरीले हात पारेका छन् । भारतीय खेलाडीहरूको एकल दबदबा रहेको प्रतियोगिताको पुरुष एकलतर्फ सूर्यक्षले अंश नेगीलाई २१–१७, २१–१८ ले पराजित गर्दै उपाधि उचालेका हुन् ।
महिलातर्फ चौधरीले मेधावी नागरलाई २१–१७, २१–१६ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाएकी हुन् । पुरुषतर्फ साईप्रसाद तिगला र विश्वजित चौधरी तथा महिलातर्फ इसिता नेगी र दिया भिमैयाले संयुक्त कांस्य पदक जिते ।
नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा पाँचै विधाको सेमिफाइनलमा भारतीय खेलाडीहरूको मात्र प्रतिस्पर्धा रहेको थियो । नेपाली खेलाडीहरू क्वाटरफाइनलभन्दा माथि उठ्न सकेनन् । नेपाली खेलाडीमा महिला डबल्स यू–१९ मा टिसारानी शाक्य र स्वर्लिन श्रेष्ठ तथा सुविन श्रेष्ठ र दिलाशा रानाको जोडी अन्तिम आठमा पुगेका थिए ।
महिला युगलतर्फको उपाधि आन्या विष्ट र एन्जल पुनेराले हात पारे । उक्त जोडीले दिया भिमैया र बरुणी पर्सवाललाई २१–१४, २१–१८ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा इसिता नेगी र भान्सिका ठाकुर तथा जेनिथ अब्बिगिल र तारिनी सुरीको जोडी रहे ।
पुरुष युगलतर्फ भाव्य छावरा र परम चौधरीको जोडीले जित हात पार्दै उपाधि जिते । छावरा र चौधरीको जोडीले दिभ्यांश अग्रवाल र नीरज केशरीको जोडीलाई २१–१७, २१–१५ ले पराजित गरेका हुन् । तेस्रो स्थानमा दभ्यांश रावत र योगांश सिंह तथा सी लालराम र सौरभ साहुको जोडी रहे ।
मिक्स युगलतर्फ भाव्या छावरा र एन्जल पुनेराको जोडीले गर्भ सानी र इसिता नेगीको जोडीलाई २१–१३, २१–१४ ले पराजित गर्दै उपाधिमा आफ्नो नाम लेखाए ।
तेस्रो स्थानमा सौरभ साहु र प्रगति परिदा तथा बिजोन जैसन र आन्या विष्टको जोडी रहे । प्रतियोगितामा सहभागी ९९ खेलाडीमध्ये भारतका ६०, नेपालका १६, थाइल्यान्डका १०, यूएईका ४, इरानका ३, न्युजिल्यान्डका २ तथा मलेसिया, अस्ट्रेलिया, बंगलादेश र इन्डोनेसियाका १–१ जना खेलाडीहरू सहभागी थिए ।
