सुम्हात्लुङ मिनी म्याराथनमा पुष्पा र प्रताप च्याम्पियन

पुस १५, २०८१

कान्तिपुर संवाददाता

Pushpa and Pratap champions at Sumhatlung Mini Marathon

पाँचथर — सुम्हात्लुङ मिनी म्याराथनको उपाधि पुरुषतर्फ पाँचथरको फिदिम–१० का प्रताप लिम्बू र महिलातर्फ पाँचथरकै मिक्लाजुङकी पुष्पा (फुङनारा) शेर्माले जितेका छन् । फिदिममा आयोजित म्याराथनमा प्रतापले निर्धारित साढे नौ किलोमिटर दूरी २६ मिनेट ३० सेकेन्डमा पूरा गरे ।

पुरुषतर्फको प्रतियोगितामा २७ मिनेटमा दौड पूरा गर्दै ताप्जेजुङ मैवाखोला गाउँपालिका–६ का अमिर तेङबुङ दोस्रो र सप्तरीको राजविराजका अजितकुमार यादवले २७ मिनेट २७ सेकेन्डमा दूरी पार गरेर तेस्रो भए । 

महिलातर्फ निर्धारित साढे ५ किलोमिटर दूरी पुष्पाले २१ मिनेट २७ सेकेन्डमा पूरा गरिन् । संखुवासभा खाँदबारीकी नुनकला राई दोस्रो र पाँचथरको फिदिम–१ की सविता राई तेस्रो भए । नुनकलाले २२ मिनेट र सविताले २३ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए । पुरुषतर्फ २६ र महिलातर्फ ११ खेलाडी सहभागी थिए । पुरुषतर्फ पहिलोदेखि तेस्रो हुनेले क्रमशः ३०, २० र १० हजार तथा महिलातर्फ पहिलोदेखि तेस्रो हुनेले क्रमशः नगद १५, १० र ५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

फिदिम नगरपालिका–४ स्थित ऐतिहासिकस्थल सुम्हात्लुङ गढीदेखि सुरु गरिएको म्याराथन, क्याम्पसमोड–जोरसाल, पल्लोटार बसपार्क, शनिबारे, जिल्ला प्रहरी कार्यालय र वेलफेयर डाँडा हुँदै गढी मन्दिरमै पुगेर टुंग्याइएको थियो ।

किरात समुदायको महान पर्व उँधौलीको अवसर पारेर फिदिममा लाग्ने चासोक मेलाको अवसरमा आयोजना गर्दै आएको मिनी म्याराथनको यो सातौं संस्करण हो । विजेताहरूलाई फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले र उपमेयर राधाकृष्ण न्यौपानेसहितले पुरस्कृत गरे । 

कान्तिपुर

Link copied successfully