एलेक्स र डिकेनलाई स्वर्ण, वडा १६ टिम च्याम्पियन

पुस १५, २०८१

कान्तिपुर संवाददाता

Gold to Alex and Dicken, Ward 16 Team Champions

काठमाडौँ — ललितपुर महानगरपालिका वडा ७ का एलेक्स महर्जन र डिकेन महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

पुरुष सिंगल्स क्याटगोरी ‘ए’ मा एलेक्स र क्याटगोरी ‘बी’ मा डिकेन विजेता भए । ‘ए’ क्याटगोरीमा राष्ट्रिय खेलाडी पनि प्रतिस्पर्धी थिए भने ‘बी’ मा राष्ट्रिय खेलाडीबाहेक प्रतिस्पर्धा थियो ।

ललितपुरको पाटनको गःछेंमा भएको ‘ए’ को फाइनलमा एलेक्सले अनुभवी खेलाडी संयोग कपालीलाई ६–११, ११–६, ११–९, ११–७ को सेटमा पराजित गरे । वडा ८ का विपुल महर्जन र वडा ७ का डिकेन महर्जन तेस्रो भए ।

ललितपुर महानगरपालिका वडा ९ को आयोजनामा भएको प्रतियोगिताअन्तर्गत क्याटगोरी ‘बी’ फाइनलमा डिकेनले वडा ६ का सन्जिल शाक्यलाई ११–७, ६–११, १२–१०, ३–११, ११–९ को सेटमा हराए । वडा १६ का सुमन शाक्य र वडा ७ का एलेन महर्जन तेस्रो बने ।

प्रतियोगितामा ललितपुर महानगरका २९ वडामध्ये २५ वडाका ६ सय ३७ खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यसअघि वडा ९ को आन्तरिक सिंगल्समा सन्जु अवाले, भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा वडा ५ की ममता राजभण्डारी, ६० वर्षमाथि पुरुष सिंगल्समा वडा १३ का पूर्णशंकर श्रेष्ठ, ५० वर्षमाथि पुरुष सिंगल्समा वडा ६ का राजेन्द्र कपाली, ४० वर्षमाथि पुरुष सिंगल्समा राजेन्द्र श्रेष्ठ, यु–१२ सिंगल्सको ब्वाइजमा वडा १६ का स्वर्णिम शाक्य र गर्ल्समा वडा १७ की अर्सना महर्जनले स्वर्ण जितेका थिए ।

यु–१६ सिंगल्स ब्वाइजमा वडा २० का एरिस शाक्य र गर्ल्समा वडा ५ की साइरा शाक्य, पुरुष डबल्समा वडा ८ का विपुल महर्जन र रुविन महर्जन, महिला सिंगल्समा वडा १७ की अर्सना महर्जन, महिला टिम इभेन्टमा वडा १७, ४० वर्षमाथि पुरुष टिम इभेन्टमा वडा २० र पुरुष टिम इभेन्टमा वडा ७ पहिलो भएको थियो ।

विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, आयोजक वडा ९ का अध्यक्ष राजु महर्जन, ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले पुरस्कृत गरे ।

सबै स्पर्धामा गरी कुल ३ लाख ६८ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको निकेश जोशीले जनाएका छन् ।

वडा १६ टिम च्याम्पियन

प्रतियोगितामा वडा १६ टिम च्याम्पियन बनेको छ । सर्वाधिक ३ स्वर्ण, ५ रजत र २ कांस्य जित्दै वडा १६ टिम च्याम्पियन बन्यो । दोस्रो भएको वडा ७ ले ३ स्वर्ण र ३ कांस्य जित्यो । तेस्रो स्थानको वडा १७ ले ३ स्वर्ण र १ कांस्य जित्यो । २ स्वर्ण, १ रजत र ११ कांस्यसहित वडा २० चौथो तथा १ स्वर्ण र २ रजतसहित वडा ६ पाँचौं स्थानमा रहे ।

कान्तिपुर

Link copied successfully