फाल्गुनन्द गोल्डकप : दुवै टिमको उपाधि जित्ने दाबी

पुस १५, २०८१

लक्ष्मी गौतम

Falgunand Gold Cup: Both teams claim to win the title

पाँचथर — एघारौं फाल्गुनन्द गोल्डकपको सोमबार हुने फाइनलमा प्रतिस्पर्धी चर्च ब्वाइज युनाइटेड क्लब र मछिन्द्र फुटबल क्लब दुवैले उपाधि जित्न तयार रहेको दाबी गरेका छन् । फिदिममा जारी प्रतियोगितामा दुवै टिमका प्रशिक्षकले प्रतिस्पर्धी टिमको कमजोरी पहिचान गर्दै रणनीतिक रूपमा खेलेर उपाधि जित्ने दाबी गरे ।

उपाधि दाबेदारमध्ये चर्च ब्वाइज ०७९ सालमा भएको ए डिभिजन लिग विजेता र मछिन्द्र फुटबल क्लब उपविजेता थिए । चर्च ब्वाइज युनाइटेडले सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई र मछिन्द्रले अर्को उपाधि दाबेर न्युरोड टिमलाई पराजित गरेको थियो ।

गत साता मात्र झापा कपको उपाधि जितेको चर्च ब्वाइज पाँचथरमा पनि उपाधि जित्नेमा विश्वस्त छ । चर्च ब्वाइज युनाइटेड प्रशिक्षक सुमन श्रेष्ठले उपाधिका लागि पाँचथर आएको बताए । मछिन्द्र राम्रो टिम भए पनि आफूहरूले गत साता झापा कपको उपाधि जित्नका साथै इलाममा उपविजेता भएको जस्ता दृष्टान्तले उपाधि चुम्ने दाबी गरे ।

मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफ्नो टिमको तयारी राम्रो हुनुका साथै मैदानमा आफ्ना खेलाडीहरूको अनुभव पनि राम्रो भएकाले ट्रफी र पुरस्कार चुम्ने दाबी गरे । मछिन्द्रका कप्तान विशाल श्रेष्ठले आफ्ना खेलाडीले यसअघि दुवै खेलमा राम्रो प्रदर्शन गरेकाले दर्शकको समर्थन रहने विश्वास 

गरे । चर्च ब्वाइज युनाइटेडका कप्तान एकराज बुढाथोकीले टिम लयमा रहेको र पछिल्ला प्रदर्शनहरू पनि राम्रो रहेकाले त्यसलाई निरन्तरता दिँदै उपाधि जित्ने विश्वास व्यक्त गरे ।

गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउनेछ । यस्तै गोल्डकपका उत्कृष्ट खेलाडीले इलेक्ट्रोनिक स्कुटर प्राप्त गर्नेछन् । पुस ६ गते सुरु प्रतियोगितामा नेपालका ए डिभिजन र विभागीय टिमसहित भारतका गरी १० टिम सहभागी थिए ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully