फागुनमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने
रोल्पा — सन स्टार युवा क्लबले ठूलो पुरस्कार राशिको राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फागुन ३ देखि ८ सम्म रोल्पाको सदरमुकाम लिवाङमा हुने प्रतियोगितामा ९ लाख भन्दा बढी पुरस्कार राशि रहेको छ ।
दोस्रो संस्करणमा हुन लागेको प्रतियोगिता हो । करिब १० वर्षअघि पहिलो संस्करणको प्रतियोगिता भएको थियो । विजेताले ५ लाख रुपैयाँसहित सन–स्टार ट्रफी जित्नेछ ।
उपविजेताले २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख रुपैयाँ जित्नेछन् । सान्त्वना हुने टिमलाई ५० हजार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डरलगायत विधागत उत्कृष्टलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
क्लबका अध्यक्ष तथा रोल्पा नगरपालिकाका पूर्वमेयर पूर्ण केसीले प्रतियोगिताको तयारी धमाधम भएको बताए । उनका अनुसार रोल्पामा आयोजना भएको कुनै पनि खेलकुद प्रतियोगिताको यो ठूलो पुरस्कार राशि हो । क्लबले तेह्रौं वार्षिकोत्सवको अवसरमा आयोजना गर्ने प्रतियोतिगामा १० टिमले भाग लिनेछन् । सात प्रदेशबाट १–१ टिमसहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबले भाग लिनेछन् ।
प्रतियोगिताको लोगो यसअघि नै सार्वजनिक गरिएको थियो । क्लबका अध्यक्ष केसीले प्रतियोगिता आयोजनाले खेल क्षेत्रको विकासका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास रहेको बताए । प्रतियोगिताका लागि तीनै विभागीय टोली तथा प्रदेशका टिमसँग समन्वय गरिरहेको जनाइएको छ ।
प्रतियोगिताको नारा ‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने नारा तय गरिएको छ । जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता पनि आयोजना हुनेछ । स्थानीय तहको सिफारिसमा सहभागी महिला टोलीबीच प्रतियोगिता हुनेछ । विजेताले ५५ हजार, दोस्रोले ३५ हजार, तेस्रोले १५ हजार र चौंथो हुनेले १० हजार जित्नेछन् ।
‘हामीसँग प्रतियोगिता आयोजना गर्न आवश्यक आर्थिक स्रोत छैन । तैपनि थोपा–थोपाबाट सहयोग संकलन गरेर समुद्र बन्छ भनेझैं सबै खेलप्रेमीबाट सहयोग जुटाएर राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने तयारी भएको छ,’ क्लबका अध्यक्ष केसीले भने । प्रतियोगिता गर्न करिब ४० लाख बजेट आवश्यक पर्ने आयोजकको अनुमान छ ।
