काठमाडौँ — दक्षिण अफ्रिकाले पहिलो टेस्टमा आइतबार पाकिस्तानमाथि सनसनीपूर्ण दुई विकेटको जित निकालेको छ । यस जितसँगै दक्षिण अफ्रिका विश्व टेस्ट च्याम्पिनयसिपको फाइनल पनि पुगेको छ ।
सेन्चुरियनमा भएको टेस्टको चौथो दिन जितका लागि १ सय ४८ रन पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेटमा १ सय ५० रन बनाएको हो । घरेलु टिमका लगि मार्को जेन्सन र कगिसो रबाडाले ५१ रनको नटआउट र निर्णायक साझेदारी गरे ।
जेन्सनले १६ रन बनाए भने रबाडाले ३१ रन जोडे । उनीहरूको बहादुरीपूर्ण प्रदर्शन अगाडि पाकिस्तानले घातक बलिङ गरेको थियो र दक्षिण अफ्रिका ८ विकेट गुमाएर ९९ रनको स्थितिमा थियो । त्यहींबाट जेन्सन र रबाडाले दक्षिण अफ्रिकालाई जितसम्म पुर्याए ।
पाकिस्तानका लागि मोहम्मद अब्बासले ६४ रनमा ६ विकेट लिए । उनकै प्रदर्शनका कारण पाकिस्तान जितको संघारमा पुगेको थियो, तर त्यसलाई आत्मसात् गर्न सकेन । पाकिस्तानले आफ्ना दुई इनिङ्समा २ सय ११ र २ सय ३७ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाले भने आफ्नो पहिलो इनिङ्समा ३ सय १ रन बनाएको थियो ।
