श्रेष्ठ तेस्रोपल्ट अध्यक्ष निर्वाचित, प्रत्याशीद्वारा बहिस्कार

पुस १४, २०८१

कान्तिपुर संवाददाता

Shrestha was elected president for the third time, boycotted by the candidate

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्ष पदमा शनिबार जीवनराम श्रेष्ठ लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अनलाइन भएको निर्वाचनमा खसेका २० मतमध्ये २० नै प्राप्त गरेका थिए । 

‘विभिन्न बाधा र अड्चनबीच यो निर्वाचन भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को निर्देशनअनुसार यो निर्वाचन डिसेम्बरअगाडि नै सम्पन्न गर्नुपर्ने थियो,’ जितपछि श्रेष्ठले प्रतिक्रिया दिए । आफूलाई मतदान गर्ने सबैलाई धन्यवाद दिँदै उनले भने, ‘साथीहरूले मप्रति जुन विश्वास देखाउनुभएको छ, त्यसका लागि धन्यवाद । यो सहयोगप्रति म आभार रहने छु । अबको कार्यकालमा नेपाली खेलकुदको विकास र विस्तारका लागि अझ धेरै काम गर्ने प्रतिबद्धता प्रकट गर्न चाहन्छु ।’ 

श्रेष्ठका अनुसार अनलाइन निर्वाचनमा आईओसी तथा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का प्रतिनिधि पनि जोडिएका थिए । उनले पाटन उच्च अदालतको स्टे अर्डर यस निर्वाचनविरुद्ध नरहेको दाबी गर्दै सर्वोच्च अदालतको निर्णय भने आफूहरूले शुक्रबार अबेरसम्म पनि औपचारिक रूपमा प्राप्त नगरेको दाबी गरे । 

उनले गैरकानुनी रूपमा सरकारी हस्तक्षेपकै कारण निर्वाचन अनलाइनबाट गर्नुपरेको पनि बताए । ओसीएको दुई महिनाअघि सम्पन्न निर्वाचन पनि अनलाइनबाट नै भएको थियो । ओसीएको त्यो चुनाव सम्पन्न गरेको इक्टोरियल स्कुल अफ इन्जिनियरिङले एनओसी निर्वाचनमा पनि त्यही प्रक्रिया सञ्चालन गरेको थियो । 

निर्वाचनमा उम्मेदवारी दर्ता पनि अनलाइनबाटै भएको थियो । मतदानमा अध्यक्ष पदका उम्मेदवार तथा निर्वतमान महासचिव नीलेन्द्रराज श्रेष्ठसहित अरू केही प्रतिनिधिले मतदानमा भाग लिएनन् । अर्का अध्यक्षका प्रत्याशी तेज गुरुङले भने जीवनरामको समर्थनमा अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका थिए । एनओसीको २७ संघका प्रतिनिधिको मताधिकार छ । 

यसअघि सर्वोच्च अदालतले एनओसीको निर्वाचनलगायतका गतिविधि नगर्नू/नगराउनू भनेर आदेश दिएको थियो । राष्ट्रिय खेलकुद परिषदले पनि यससम्बन्धी सूचना जारी गरेको थियो । एनओसीको मंसिर १७ मा बसेको विशेष साधारणसभाले विधान संसोधन गरेको थियो । त्यसअनुसार नेतृत्वमा दुई कार्यकालको व्यवस्था हटाएर चार कार्यकाललाई पारित गरेको थियो । 

एनओसीको कार्यसमितिका १९ सदस्यमध्ये अध्यक्ष पदमा मात्र निर्वाचन भएको हो । त्यसअघि नै सात उपाध्यक्षमा ज्योति राणा, गोपालसुन्दर कक्षपति, प्रकाशशम्शेर राणा, दावा गुरुङ, अनिलप्रसाद शर्मा, अशोकरत्न वज्राचार्य र चतुरानन्द राजवैद्य निर्वाचित भइसकेका थिए । 

महासचिवमा राजीव श्रेष्ठ, कोषाध्यक्षमा टासी घले, सह–महासचिवमा रामजीबहादुर श्रेष्ठ, सचिवमा भीमसिंह गुरुङ, रामकृष्ण श्रेष्ठ र रमेशप्रसाद सिवाकोटी चुनिएका छन् । सदस्यमा गीता राना, जितेन्द्रबहादुर चन्द, लाक्पा छिरिङ लामा, मनीष जोशी र राम अवाले चुनिएका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully