धरान — प्रो सञ्जय लामाको टिमले सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ । धरान गल्फ क्लबमा शनिबार सञ्जयको टिमले १६७ अंकसहित उपाधि जित्यो । सञ्जयले ४१ तथा एमेच्योर गल्फर भुवनेश लिम्बूले ४३, बिना सापकोटाले ४२ र श्याम लिम्बूले ४१ अंक जाडेका थिए ।
नेपाल नम्बर एक प्रो भुवन नगरकोटीको टिम १५९ अंकसहित दोस्रो भयो । भुवनले ३९ अंक जोड्दा एमेच्योर गल्फर भीम दाहाल, पूर्णबहादुर राई र बलबहादुर राईले समान ४० अंक जोडे ।
प्रो नीरज तामाङको टिम १५५ अंकसहित तेस्रो भयो । अघिल्लो दिन इस्टर्न ओपन जितेका नीरजले ३८ अंक बटुले । एमेच्योर गल्फर दिवस तुलाधर, सिद्धान्त सापकोटा र सुष्मा सिंहले समान ३९ अंक बटुले ।
महिलातर्फ ४२ अंक जोडेर बिना सापकोटा विजेताको पुरस्कार जितिन् । होल नम्बर १८ मा सञ्जीव क्षेत्रीले लङ्गेस्ट ड्राइभ र होल नम्बर १७ मा भीम दाहालले क्लोजेस्ट टु दी पिनको अवार्ड जिते ।
विजेता खेलाडीलाई नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ र धरान गल्फ क्लबका सचिव देवराज राईले पुरस्कार वितरण गरे । प्रो–एममा १२ प्रो र ४८ एमेच्योर खेलाडीले भाग लिएका थिए ।
नीरजले शुक्रबहादुर राईको कुलतर्फको रेकर्ड स्कोर बराबरी गर्दै करियरको दोस्रो उपाधिको रूपमा इस्टर्न ओपन जितेका हुन् ।
सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन अर्को महिना हिमालयन गल्फ कोर्स पोखरामा हुनेछ ।
