एनओसीको निर्वाचनमा सहभागी खेलकुद संघहरूलाई कारबाही गर्ने मन्त्री चौधरीको चेतावनी

'जसले नेपालको नियम, कानुन नमान्ने, खेलकुद ऐन नमान्ने व्यक्तिहरू खेलकुद संघमा बस्न उपयुक्त हुँदैन, त्यसकारण म आग्रह गर्न चाहन्छु, त्यस्तो व्यक्तिलाई कांग्रेसको हरेक पाइलामा ठाउँ नदिन आग्रह गर्दछु'

पुस १४, २०८१

कान्तिपुर संवाददाता

Minister Choudhary's warning of taking action against sports associations participating in the NOC elections

काठमाडौँ — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा सहभागी भएका खेलकुद संघहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्रालयको निर्देशन नमान्नेहरूलाई कारबाही गर्ने मन्त्री चौधरीले घोषणा गरेका हुन् ।

कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको महाधिवेशन केन्द्रीय निर्देशन समितिले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले कानुन नमान्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । खेलकुद संघका साथै राष्ट्रिय खेलकुद परिषद्लेसमेत मन्त्रालयको निर्देशनको पालना नगरी अघि बढ्न खोजेको भन्दै मन्त्री चौधरी आक्रोशित बनेका हुन् । 

अदालतको आदेश आएपछि नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित गर्न पत्राचार गरे पनि कमिटीले त्यसलाई अटेर गरेको पनि चौधरीले बताए । ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी नहुन खेलकुद संघहरूलाई पत्रचार गरेपनि नमानेको भन्दै स्पष्टीकरण पठाइएको मन्त्री चौधरीले जानकारी दिए ।

'हामी कांग्रेसभित्र कस्तो व्यक्ति खेलकुदमा पठाउनुभएको छ, थाहा छैन, कस्तो व्यक्तिहरू महासमितिको सदस्य बन्छ, महाधिवेशन प्रतिनिधि बन्छ, त्यो हामीलाई थाहा भएन । कुन नेताको पकेटबाट को आउँछ, कुन नेताको पकेटबाट के आउँछ, त्यो कुरा मलाई थाहा भएन,' मन्त्री चौधरीले भने, 'अहिले भर्खर पुनरावेदन अदालतको र सर्वोच्च अदालतको विषयमा व्यापक रुपमा कुरा उठिरहेको छ । मन्त्रालय भन्दा ठूलो राष्ट्रिय खेलकुद परिषद्, अधिकार र कर्तव्यमा, त्यो भन्दा पनि ठूलो अहिले खेलकुद संघहरू हुन् । हामीले लगतार एक हप्तादेखि सर्वोच्च अदालतको फैसला पुनरावेदनको फैसला आइसकेपछि ओलम्पिक कमिटीको विषयमा व्यापक रुपमा खेलकुद मन्त्रालय र खेलकुद विभागबाट व्यापक रुपमा छलफल गरेर अघि बढ्यौँ तर सोचेअनुसारको नतिजा ल्याउन सकेनौं । किनभने हामी खेलकुद मन्त्रालय चिठी दिने हो, परिपत्र, निर्देशन दिने हो । हामीले खेलकुद परिषद्मा दिने हो । हामी सर्वोच्च र पुनरावेदनबाट प्राप्त पत्र परिषद्मा पठायौँ ।'

नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी हुने २७ वटा संघलाई कारबाही गर्ने चेतावनी मन्त्री चौधरीले दिएका छन् । कारबाही प्रक्रिया सुरु भइसकेको पनि उनको भनाइ छ । 'हामीले यसमा तपाईंहरू सहभागी नभइदिनुस्, तपाईंहरूको खातासमेत रोक्ने प्रक्रिया हुनसक्छ, धेरै कारबाही हुनसक्छ भनेर हामीले धेरै पत्र पठायौँ । तर उहाँहरूले सुन्नुभएन । त्यो नसुनेपछि हामीले स्पष्टीकरण पठाएका छौँ । सायद केही दिनमा स्पष्टीकरणको जवाफ आउनेछ । केही दिनभित्र खेलकुद संघलाई कारबाही अघि जान्छ,' मन्त्री चौधरीले भने, 'खेलकुद संघलाई कारबाही अघि बढाउने कोसिस गरिरहेको छु । चाहे त्यो जेसुकै अवस्था आओस् । जसले नेपालको नियम नमान्ने, नेपालको कानुन नमान्ने, खेलकुद ऐन नमान्ने व्यक्तिहरू खेलकुद संघमा बस्न उपयुक्त हुँदैन । त्यसकारण म आग्रह गर्न चाहन्छु, त्यस्तो व्यक्तिलाई कांग्रेसको हरेक पाइलामा ठाउँ नदिन आग्रह गर्दछु । तपाईंहरू नै त्यस्तो व्यक्तिलाई ठाउँ दिनुहुन्छ भने नेपाली खेलकुद अघि बढ्न सक्दैन ।’

मन्त्री चौधरीले खेलकुद क्षेत्रको बजेट बढाउन आवश्यक रहेको बताए । नीतिअनुसार स्पष्ट बजेट आउन नसकेको गुनासो उनको थियो । विद्यालय स्तरमा बजेट सबैभन्दा बढी हुनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully