सुनसरी — चालिसको दशकमा इटहरीमा क्रिकेट खेलको सुरुआत गर्ने पुराना चार खेलाडी सम्मानित भएका छन् । सम्मानित हुनेमा विनोद देवान, सञ्जिव ढुंगाना, प्रदीप रेग्मी र कमलेश पौडेल छन् ।
उनीहरू २०४३ सालमा पहिलो पटक इटहरीमा क्रिकेट भित्र्याउने खेलाडी हुन् । उनीहरूलाई इटहरीमा २०४३ सालमा इटहरी क्रिकेट टिमको संस्थापक सदस्यमा योगदान गरेको भन्दै कस्तुरी कलेज अफ म्यानेजमेन्टले सम्मान गरेको हो ।
इटहरी–९ स्थित जनता क्रिकेट मैदानमा सम्पन्न अन्तर कलेज क्रिकेट प्रतियोगिताको समापनमा उनीहरूलाई कस्तुरी कलेजका अध्यक्ष रामचन्द्र अधिकारीले सम्मान गरे । उक्त टिमका सदस्य लिलम बस्नेत, पवन खेडिया भने अनुपस्थित थिए ।
२०४३ सालमा स्थापित इटहरी क्रिकेट टिमका सदस्यमध्ये केही विदेशमा छन् भने केहीको निधन भइसकेको कस्तुरी एकेडेमीका प्राचार्यसमेत रहेका पूर्वक्रिकेटर कमलेश पौडेलले जानकारी दिए ।
