एनओसीको निर्वाचन एकपक्षीय हैन, अदालतको आदेश प्राप्त भएको छैन : श्रेष्ठ 

'ओलम्पिक अन्तर्राष्ट्रिय कमिटी हो, नेपाल सरकार, अदालत वा कुनै समूह मिलेर कुनै समूहलाई ओलम्पिक कमिटी हो भनेर हुँदैन'

पुस १३, २०८१

कान्तिपुर संवाददाता

NOC election is not unilateral, court order has not been received: Shrestha

काठमाडौँ — नेपाल‌ ओलम्पिक कमिटीको निर्वाचन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको बडापत्र (चार्टर), ओलम्पिकको विधान र कानुनअनुसार नै भएको नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठले दाबी गरेका छन् । नेपाल ओलम्पिक कमिटीको साधारणसभा रोक्नका लागि अदालतबाट कुनै आदेश प्राप्त नभएको पनि उनको भनाइ छ । 

नेपाल ओलम्पिक कमिटी (एमओसी)को शनिबार भएको निर्वाचनबाट श्रेष्ठ पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । एनओसीका २७ संघका प्रतिनिधिको मताधिकार रहेकामा २० जनाले श्रेष्ठलाई मत दिएका थिए भने बाँकी ७ जनाले निर्वाचन बहिष्कार गरेका थिए ।

सरकारले भौतिक रूपमा साधारणसभा गर्नबाट प्रहरी लगाएर अवरोध गरेपछि अनलाइनमार्फत निर्वाचन सम्पन्न भएको श्रेष्ठले बताए । उनले नेपालको खेलकुद विकास ऐन २०७७ ले ओलम्पिक कमिटीका सम्बन्धमा गरेको कानुनी व्यवस्था बमोजिम निर्वाचन भएको बताए । अनलाइनमार्फत भएको निर्वाचन भुटानको ओलम्पिक कमिटीका महासचिव सोनाम छिरिङले पर्यवेक्षण गरेको र निर्वाचन सम्पन्न भएपछि 'बधाई र शुभकामना' दिएको पनि श्रेष्ठले बताए । 

नेपाल ओलम्पिक कमिटीलाई डिसेम्बर २०२४ भित्र निर्वाचन गरिसक्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले समयसीमा दिएअनुसार नै साधारणसभा आयोजना भएको श्रेष्ठको भनाइ छ । यसअघि पनि आईओसीले एनओसीलाई चुनाव गराउन पटक-पटक समयसीमा दिएको उनले बताए । 'नेपाल ओलम्पिक कमिटीको निर्वाचन डिसेम्बरमा गरिसक्नु पर्थ्यो । आईओसीको चार्टर, नेपाल ओलम्पिक कमिटीको विधान, नेपालको कानुनअनुसार निर्वाचन प्रक्रिया अगाडि बढेर सम्पन्न भएको हो,' श्रेष्ठले भने, 'ओलम्पिक अन्तर्राष्ट्रिय कमिटी हो । नेपाल सरकार, अदालत वा कुनै समूह मिलेर कुनै समूहलाई ओलम्पिक कमिटी हो भनेर हुँदैन । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले भनेअनुसार हुन्छ । आईओसीले मान्यता नदिईकन हुँदैन ।'

सरकाले नेपाल ओलम्पिक कमिटीलाई काम गर्न दिनुपर्ने श्रेष्ठको भनाइ छ । सरकारले खेलकुदको विकास चाहन्छ कि चाहँदैन ? नेपालका खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गराएर नेपालको मान बढाउन चाहन्छ कि चाहन्न भन्ने कुरा सरकारको आगामी कदममा भर पर्ने पनि उनले बताए । 'नेपाल ओलम्पिक कमिटीले काम गर्न नपाए ओलम्पिक अन्तर्गतका खेलका कुनै पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन पाउँदैनन्,' उनले भने, 'ओलम्पिकका अन्तर्राष्ट्रिय आयोजनामा नेपालका खेलमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई सहभागी गराउने काम पनि नेपाल ओलम्पिक कमिटीले नै गर्ने हो । नेपालको क्याबिनेटले गरेर हुँदैन ।'

२७ मतदातामध्ये २० जनाले साधारणसभामा भाग लिई निर्वाचनमा मतदान गरेकाले एकपक्षीय रूपमा नेतृत्व चयन गरेको भन्न नमिल्ने श्रेष्ठको भनाइ छ । आईओसीको चार्टर, एनओसीको विधान, नेपालका कानुनअनुसार एनओसी चल्ने उनले बताए । एनओसीको स्वायत्तामा कुनै पनि खालको अवरोध स्वीकार्य नहुने पनि उनको भनाइ छ । विद्यालय तहदेखि नै ओलम्पिकका खेलकुदलाई बढावा दिने बताउँदै श्रेष्ठले ओलम्पिकका अन्तर्राष्ट्रिय मूल्य-मान्यता र भावनालाई नेपालमा व्यापक बनाउने बताए  । 

एनओसीको कार्यसमितिका १९ सदस्यमध्ये अध्यक्ष पदका लागि मात्र निर्वाचन भएको हो । १८ पदाधिकारी र सदस्य निर्विरोध निर्वाचित भएका थिए । 

कान्तिपुर

Link copied successfully