६० वर्षमाथि पूर्णशंकर विजेता, अर्सनालाई अर्को स्वर्ण

पुस १३, २०८१

कान्तिपुर संवाददाता

Purnashankar winner over 60, another gold for Arsana

काठमाडौँ — ललितपुर महानगरपालिका वडा १७ की अर्सना महर्जनले छैटौं मेयर कप अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् ।

अर्सनाले जितेको यो तेस्रो स्वर्ण हो । यसअघि अर्सनाले यू–१२ गर्ल्स सिंगल्स र महिला टिम इभेन्टमा स्वर्ण जितेकी थिइन् । अर्सनाले फाइनलमा वडा १२ की रोनिशा महर्जनलाई १३–११, ११–५, ११–८ ले पराजित गरिन् । वडा ८ की सुरम्य शाक्य र वडा १७ की अर्पिता महर्जन तेस्रो भए ।

ललितपुर महानगरपालिका–९ द्वारा आयोजित प्रतियोगिताको यू–१६ गर्ल्समा सिंगल्समा साइरा शाक्य र यू–१२ ब्वाइज सिंगल्समा स्वर्णिम शाक्य विजेता भए । दुवै वडा १६ का हुन् ।

पाटनको गःछेःमा भएको गर्ल्स फाइनलमा साइराले वडा १९ की एमरिन महर्जनलाई ११–७, ११–६, ११–७ को सोझो सेटमा हराइन् । वडा ८ की सुरम्य शाक्य र वडा १२ की इशान्वी महर्जन तेस्रो भए ।

स्वर्णिमले आफ्नै वडाका रिभानमुनि वज्राचार्यलाई ११–९, ११–१३, ११–८, ११–१३, ११–७ को प्रतिस्पर्धात्मक सेटमा हराए । वडा ११ का निर्भिक शाक्य र वडा १८ का सुभान खड्का तेस्रो भए ।

भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा वडा १३ का पूर्णशंकर श्रेष्ठ विजेता भए । उनले फाइनलमा वडा १० का आनन्द धाख्वालाई ११–९, ५–११, ११–७, ८–११, ११–९ को सेटमा हराए । वडा ३ का किरणकुमार विष्ट र वडा १९ का जगदीश्वर जोशीले तेस्रो स्थानमा चित्त बुझाए ।

यसअघि वडा ५ की ममतासिंह राजभण्डारीले भेट्रान ४० वर्षमाथि महिला सिंगल्स, वडा ७ ले पुरुष टिम इभेन्ट र वडा २० ले पुरुष भेट्रान टिम इभेन्टमा स्वर्ण जितेको थियो ।   

कान्तिपुर

Link copied successfully