काठमाडौँ — जीवनराम श्रेष्ठ तेस्रो कार्यकालका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार अनलाइन भोटिङमा खसेको २० मध्ये शतप्रतिशत मत प्राप्त गरी उनी लगातर तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
एनओसीको कार्यसमितिका १९ सदस्यमध्ये अध्यक्ष पदका लागि मात्र निर्वाचन भएको हो । एनओसीका अनुसार अनलाइन भोटिङमा ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) पनि जोडिएको थियो । निर्वाचनमा उम्मेदवारी दर्ता पनि अनलाइनबाटै भएको हो ।
यसपल्टको मतदानमा अध्यक्ष पदका उम्मेदवार तथा निवर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठसहित केही मतदाताले मतदानमा भाग लिएनन् । एनओसीमा २७ संघका प्रतिनिधिको मताधिकार रहेको छ ।
निर्वाचनका क्रममा एनओसीले सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको छ । यसअघि अदालतले निर्वाचन नगर्न आदेश दिएको थियो ।
