नीरजले जिते इस्टर्न ओपन गल्फ

पुस १३, २०८१

कान्तिपुर संवाददाता

Neeraj won the Eastern Open Golf

काठमाडौँ — धरानका प्रो नीरज तामाङले कुल स्कोरको रेकर्ड बराबरी गर्दै सूर्य नेपाल इस्टर्न ओपन गल्फको उपाधि जितेका छन् । उनले धरानकै प्रो शुक्रबहादुर राईको रेकर्ड बराबरी गर्नेक्रममा १७ अन्डर १९३ को स्कोरसहित करियरको दोस्रो उपाधि उचाले ।

धरान गल्फ क्लबमा शुक्रबार ५ अन्डर ६५ को उत्कृष्ट स्कोरमा नीरजले विष्णुप्रसाद शर्मालाई १० स्ट्रोकको फराकिलो अन्तरमा पछाडि पारे । नीरजले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । उनले पहिलो दिन शुक्रकै नामको ७ अन्डरको कोर्स रेकर्ड पनि तोडेका थिए ।

पार ७० को कोर्समा ७ अन्डर २०३ स्कोरसहित विष्णु दोस्रो भए । उनले २ अन्डर ६८ को कार्ड बनाए । उनले १ लाख रुपैयाँ जिते । धरानका बलभद्र राई ३ अन्डर २०७ सहित तेस्रो भए । ७५ हजार जितेका उनले १ ओभर ७१ स्कोर गरे ।

नीरजले शुक्रबार सात स्ट्रोकको अग्रतासहित अन्तिम १८ होलको खेलको सुरु गरेका थिए । उनले एकपक्षीय रूपमा उपाधि जित्दा फ्रन्टनाइनमा ५ अन्डर ३१ खेले । पहिलोदेखि तेस्रो होलसम्म तीन बर्डी प्रहार गरेका नीरजले बोगी फ्री फ्रन्टनाइन खेल्ने क्रममा छैटौं रनवे होलमा पनि एक–एक शट बचाए ।

नीरजले फ्रन्टनाइन सकिँदा शुक्रको रेकर्ड तोड्ने संकेत देखाएका थिए । दसौं होलको डबल बोगी र ११ औं होलको बोगीले त्यो सम्भावना कमजोर बनायो । तर १२, १३ र १७ औं होलमा बर्डी खेल्दै उनले ब्याकनाइन इभन पार ३४ मा टुंगाए । नयाँ रेकर्ड कायम गर्नबाट थोरैले चुके पनि नीरजले ५४ होलको विजयी स्कोरलाई भने बराबरी गरेका थिए ।

विष्णुले तेस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी प्रहार गर्दै फ्रन्टनाइन ४ अन्डर ३२ मा पूरा गरे । ब्याकनाइनमा पनि चार बर्डी प्रहार गरे तर दुई होलमा बोगी खेप्दै विष्णुले २ ओभर ३६ खेले । उनले १३, १४, १६ र १७ औं होलमा १–१ शट बचाए । १५ र १८ औं होलमा बोगी प्रहार गरे । बलभद्रले फ्रन्टनाइन इभन पार ३६ मा सके । पहिलो र चौथो होलमा बोगी प्रहार गरे पनि छैटौं र नवौं होलमा बर्डी प्रहार गरे । ब्याकनाइनमा १ ओभर ३५ खेले । उनले ११ औं होलको बर्डीविरुद्ध १३ र १६ औं होलमा १–१ शट खेर फाले ।

भुवन नगरकोटी र रवि खड्का २ अन्डर २०८ सहित चौथो स्थानमा रहे । भुवनले ४ अन्डर ६६ र रविले २ अन्डर ६८ खेले । उनीहरूले जनही ५५ हजार प्राप्त गरे । समग्रमा १ अन्डर २०९ को नतिजामा धनबहादुर थापा (७०) र भुवनकुमार रोक्का (७३) छैटौं भएर जनही ४४ हजार पुरस्कार हात पारे । समग्रमा १ ओभर २११ स्कोर बनाएका रामे मगर (७१) आठौं भए । उनले ३८ हजार पाए ।

समग्रमा ४ ओभर २१४ स्कोरमा टंकबहादुर कार्की र सन्जय लामाले नवौं स्थानमा रहे । जनही ३३ हजार ५ सय पुरस्कार पाएका टंकले २ ओभर ७२ र सन्जयले४ अन्डर ६६ को स्कोर बनाए । एमेच्योरतर्फ धरानका सुमन परियारले सुन्दर राईलाई २ स्ट्रोकले हराएर उपाधि जिते । अन्तिम दिन १ अन्डर ६९ सहित समग्रमा सुमनले १ अन्डर २०९ स्कोरमा स्पर्धा टुंग्याए । सुन्दरले १ ओभर २११ मा खेल पूरा गरे । उनले शुक्रबार १ अन्डर ६९ मा खेल टुंग्याए ।

विजेतालाई सूर्य नेपाल प्रालिका डेपुटी जनरल म्यानेजर केशव प्रधान र नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राईले पुरस्कार प्रदान गरे । शनिबार प्रो–एम इभेन्ट हुनेछ । सूर्य नेपाल गल्फ टुर २०२५/२५ अन्तर्गत इस्टर्न ओपन तेस्रो प्रतियोगिता हो ।

कान्तिपुर

Link copied successfully