पाँचथर — मछिन्द्र फुटबल क्लब फिदिममा भइरहेको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मछिन्द्र क्लब ए डिभिजन प्रतिद्वन्द्वी एनआरटीलाई १–० ले पराजित गर्दै एघारौं संस्करणको उपाधि नजिक पुगेको हो ।
शनिबार फिदिम माविको मैदानमा भएको सेमिफाइनलमा मछिन्द्रका तर्फबाट दयानन्द इङलाबाङले गरेको गोल नै पर्याप्त बन्यो । उनले खेलको दसौं मिनेटमा गोल गरेका थिए । जवाफमा एनआरटीले गोल फर्काउन सकेन । यद्यपि टोलीले प्राप्त गरेका अवसरमा गोल गर्न चुक्यो ।
मछिन्द्रका देबेन्द्र तामाङ म्यान अफ द म्याच घोषित भए । उनले १० हजार पाए । मछिन्द्रले सोमबार उपाधिका लागि चर्च ब्वाइज क्लबसँग खेल्नेछ ।
विजेताले १० लाख ५ सय ५५ र उपविजेताले ५ लाख ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दीपेन्द्र थापामगरले बताए ।
