काठमाडौँ — ललितपुर महानगरपालिका वडा ७ ले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तरवडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा स्वर्ण पदक जितेको छ ।
विजेता टोलीका खेलाडीमा डिकेन महर्जन, एलेक्स महर्जन, एलेन महर्जन, मिजेन शाक्य र निकेश जोशी छन् । ज्याकी महर्जन टोली प्रशिक्षकमा छन् ।
पाटनको गःछेःमा भएको फाइनलमा वडा ७ ले वडा ८ लाई ३–१ ले हरायो । वडा ७ ले पहिलो सिंगल्स गुमाए पनि खेलमा पुनरागमन गरेर लगातार ३ सिंगल्स खेल जितेको थियो ।
पहिलो सिंगल्समा एसियाली खेलकुदमा सहभागिता जनाइसकेका वडा ८ का रुबिन महर्जनले वडा ७ का डिकेनलाई ११–५, ११–७, १०–१२, ११–४ को सेटमा पराजित गरे । अन्य सिंगल्समा वडा ७ का एलेक्सले विपुल महर्जनलाई ११–८, ९–११, ११–५, १५–१३ ले, रुविनलाई ११–९, ११–८, ८–११, ११–७ ले र एलेनले ज्ञानेश्वर महर्जनलाई ७–११, ११–६, ११–५, ११–६ को सेटमा हराए ।
ललितपुर महानगरपालिका वडा ९ द्वारा आयोजित प्रतियोगिताको महिला टिम इभेन्टमा वडा १७ ले स्वर्ण, वडा ८ ले रजत तथा वडा १९ र १६ ले कांस्य जितेको थियो । पुरुष भेट्रान टिम इभेन्टमा वडा २० पहिलो, वडा १६ दोस्रो तथा वडा ११ र ९ तेस्रो भए ।
