मकवानपुर — वाग्मती प्रदेश सरकारले भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चालु आर्थिक वर्षको बजेटबाट तत्काल १० करोड रुपैयाँ विनियोजन गर्ने भएको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरपालिकालाई अनुदानवापत् उक्त रकम उपलब्ध गराउन लागेको हो ।
युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा पेस गरेको प्रस्तावअनुसार चालु आवको बजेट शीर्षकबाट तेस्रो किस्तास्वरुप उक्त रकम उपलब्ध गराउन लागिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी गराए ।
सरकारले यसअघि दोस्रो किस्ताको रूपमा असार २४ मा १ करोड ८० लाख रुपैयाँ भरतपुर महानगरलाई रंगशाला निर्माणका लागि निकासा गरेको थियो । प्रदेश सरकारले गत आवमा पहिलो किस्तास्वरुप ५ करोड रुपैयाँ उपलब्ध गराइसकेको थियो ।
प्रदेश सरकारले पहिलो चरणमा भरतपुर महानगरसँग ७५ करोड रुपैयाँबराबरको काम गर्ने गरी सहमति भएको थियो । तर, महानगरपालिकाले तयार गरेको योजनाअनुसार राष्ट्रियस्तरको प्रतियोगिता गर्न मिल्ने बनाउन एक अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
