काठमाडौँ — ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको सातौं तुल्सीलाल स्मृति क्लब टिम चेस च्याम्पियनसिपमा शुक्रबार ललितपुर महानगर टिमले ८ अंक जोड्दै एकल अग्रता बनाएको छ । महानगर टिम चौथो चरणमा दुई पटकको च्याम्पियन थापाथली चेस पार्कमाथि जित निकाल्न सफल भयो ।
पहिलो बोर्डमा दुई एफएमबीच रुपेश जैसवालले रिजेन्द्र राजभण्डारीलाई हराए । चौथो बोर्डमा उत्कृष्ट खेल पस्किरहेका युवा अभिक शाहले वुमन्स नेसनल च्याम्पियन सिन्दिरा जोशीविरुद्ध जित निकाले ।
दोस्रो बोर्डमा महानगरका उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले थापाथलीका सुशील चौधरीसँग बराबरी खेले । तेस्रो बोर्डमा एफएम क्षितिज भण्डारी र आशिष फुयालले बराबरीमा खेल टुंग्याए ।
सर्वाधिक पुरस्कार राशि प्रदान गरिने क्लब टिम प्रतियोगितामा थापाथली चेस पार्क ६ अंक बोकेर दोस्रो स्थानमा छ । समान ६ अंक बोकेर गत संस्करणको विजेता दोलखा चेस होम तेस्रो स्थानमा छ ।
नकआउट समीकरणमा प्रवेश गर्ने सम्भावना कायम राखेका दोलखा जिल्ला बुद्धिचाल संघ, कोशी प्रदेश बुद्धिचाल संघ, काठमाडौं चेस क्लब, आयोजक ललितपुर स्पोर्ट्स क्लब, ललितपुर महालक्ष्मी नगरपालिका, कास्की जिल्ला बुद्धिचाल संघले समान ५ अंक जोडेका छन् ।
