धावक नेम्वाङ र जबेगु गृहजिल्लामा सम्मानित

पुस १२, २०८१

लक्ष्मी गौतम

Runners honored in Nemwang and Jabegu home districts

पाँचथर — महिला धावक निक्की नेम्वाङ (इन्द्रकला) गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन् । जिल्ला एथलेटिक्स संघ पाँचथरले उनीसहित ५३ वर्षीया धावक इन्द्रमाया जबेगुलाई सदरमुकाम फिदिममा एक कार्यक्रम गरी सम्मान अर्पण गरेको हो ।

जिल्लाको फाल्गुनन्द गाउॅपालिका ५ फाक्तेपमा जन्मिएकी नेम्वाङ धावकसॅगै, साइक्लिङ, क्लाइविङ र बोटिङ विधाकी उत्कृष्ट खेलाडी हुन् । उनी यसअघि नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता बनेकी थिइन् । 

यो बाहेक उनले साउथ एशियन, एसियनसहित राष्ट्रिय र अन्तराष्ट्रियस्तरका प्रतियोगितामा दर्जनभन्दा बढी उपाधि जितिसकेकी छिन् । इन्द्रमाया फिदिम-१ का नागरिक हुन् । 

जबेगु प्रादेशिकस्तरका प्रतियोगितामा अनवरत भाग लिइरहेकी खेलाडी हुन् । उनीहरुलाई एथलेटिक्स संघ पाँचथरद्वारा आयोजित कार्यक्रममा जिल्ला अध्यक्ष पूर्णहाङ तुम्बापो सहितका पदाधिकारीले दोसल्ला र कदरपत्रमार्फत सम्मान गरेका हुन् ।

सम्मान ग्रहण पछि मन्तव्य राख्दै निक्कीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाटै सहभागी बन्ने जानकारी दिइन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully