काठमाडौँ — धरानका गल्फर नीरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन बिहीबार ७ स्ट्रोकको अग्रता बनाएका छन् ।
घरेलु कोर्समा नीरज ४ अन्डर ६६ को कार्ड बनाएर कुल १२ अन्डर १२८ को आकर्षक स्कोरसहित शीर्षस्थानमा कायम रहे । उनले अन्तिम १८ होलको खेल बाँकीमा विष्णु शर्मालाई ७ स्ट्रोकले पछि पारेका छन् । यसले उनको करियरको दोस्रो उपाधि जित्ने सम्भावना बलियो बनेको छ ।
पार ७० को धरान गल्फ क्लबमा विष्णुले ३ अन्डर ६७ मा खेल टुंग्याए । उनी समग्रमा ५ अन्डर १३५ सहित दोस्रो स्थानमा उक्लिए । घरेलु प्रो बलभद्र राई र भुवनकुमार रोक्काले ४ अन्डर १३६ को स्कोरसहित संयुक्त तेस्रो स्थान ओगटे । बलभद्रले ३ अन्डर ६७ र भुवनले १ अन्डर ६९ मा खेल टुंग्याए । समग्रमा १ अन्डर १३९ सहित धनबहादुर थापा पाँचौं स्थानमा रहे । उनले ३ ओभर ७३ मा खेल सकेका थिए ।
इभन पार १४० को स्कोरसहित रवि खड्का र रामे मगर छैटौं स्थानमा रहे । दुवैले १ अन्डर ६९ मा खेल सके । समग्रमा २ ओभर १४२ को स्कोरमा टंकबहादुर कार्की र नम्बर एक प्रो भुवन नगरकोटी आठौं स्थानमा अटाए । टंकले २ अन्डर ६८ र भुवनले ३ ओभर ७३ को स्कोर बनाए । ३ ओभर १४३ मा दिनेश प्रजापति, राजेन राई र सुनिल केसी संयुक्त दसौं स्थानमा रहे । दिनेश र राजेनले इभन पार ७० र सुनिलले २ ओभर ७२ को स्कोर गरेका थिए ।
नीरजले बिहीबार उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्टनाइनमा २ अन्डर ३४ खेले । उनले पहिलो होलमा बोगी खेपे । त्यसपछि तेस्रो, पाँचौं र छैटौं होलमा एक–एक शट बचाए । यसपछि ब्याकनाइनमा तीन बर्डी प्रहार गरे । १४, १६ र १७ औं होलमा एक एक शट बचाउँदा १५ औं होलमा बोगी प्रहार गरे । नीरजले ब्याकनाइन २ अन्डर ३२ मा सके । दोस्रो स्थानमा उक्लने क्रममा विष्णुले नवौं होलको बर्डीले फ्रन्टनाइन १ अन्डर ३५ मा पूरा गरे । धरानकै बलभद्रले फ्रन्टनाइन ४ अन्डर ३२ मा सके ।
एमेच्योरतर्फ सुमन परियार समग्रमा इभन पार १४० सहित सुन्दर राईलाई २ स्ट्रोकले पछि पार्दै शीर्षस्थानमा उक्लिए । उनले २ अन्डर ६८ स्कोर निकाले । सुन्दरले समग्रमा २ ओभर १४२ स्कोर बनाए । उनले बिहीबार ४ ओभर ७४ मा खेल पूरा गरे । २१ प्रोफेसनल र ८ एमेच्योर गल्फरले कट बनाएका छन् ।
प्रोफेसनलतर्फ रमेश अधिकारी, दीपक मगर, थामबहादुर राई, दलबहादुर लामा, कृष्णमान राजबाहक, युवराज भुजेल, सन्जय लामा, सूर्यप्रसाद शर्मा र सबिन सापकोटाले अन्तिम १८ होललाई स्थान बनाए । एमेच्योरतर्फ राम तामाङ, सुरेश तामाङ, बुद्धिमान सुनुवार, जितेन्द्र राई, किशोर बस्नेत र काजी राईले कट बनाएका छन् ।
