काठमाडौँ — विश्व क्रिकेटमा यो नै सर्वमान्य मान्यता हो, प्रथम श्रेणीको क्रिकेट नै सर्वोच्च र असली क्रिकेट हो । यो एकभन्दा बढी दिनको हुन्छ । नेपाली क्रिकेटको इतिहास आफैंमा लामो छ, एकदिवसीय क्रिकेट जन्मिनु अगाडि नेपालमै पनि धेरै दिनको क्रिकेट हुने गर्थ्यो । तर, अहिले औपचारिक रूपमै नेपालमा एकभन्दा बढी दिनको क्रिकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले पुस तेस्रो सातादेखि जय ट्रफी पुरुष इलाइट कप क्रिकेट गर्ने भएको हो । क्यानले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य हुने लक्ष्यअनुसार यो प्रतियोगिता हुन लागेको छ । क्यानले यही प्रतियोगितालाई भविष्यमा प्रथम श्रेणीको स्वरूप दिने योजना बनाएको छ ।
क्यानका पूर्वअध्यक्ष जयकुमार नाथ शाहको स्मृतिमा यो प्रतियोगिता हुने भएको हो । सबैभन्दा लामो समय क्यान अध्यक्ष रहेका शाहको नाममा यसअघि एकदिवसीय जय ट्रफी हुँदै आएको थियो । सन् ८० र ९० को दशकमा नेपाली क्रिकेटलाई यही प्रतियोगिताले जीवन्त राखेको थियो । पछि जय ट्रफी आयोजना हुन छाडेको थियो ।
अबको इलाइट प्रतियोगितामा कुल ४ टिम सहभागी रहनेछ । प्रतियोगिताको लिग चरणका खेल दुईदिवसीय हुनेछ भने फाइनल तीनदिवसीय हुनेछ । पुस २१ देखि माघ ३ सम्म हुने प्रतियोगितामा मधेश प्रदेशको जनकपुर र वीरगन्जमा हुनेछ । सहभागी हुने टिममा नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबसहित वाग्मती र मधेश प्रदेश रहेका छन् ।
गत वर्षको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चारमा रहने टिमले पहिलो संस्करणको जय ट्रफी इलाइट कप खेल्न लागेका हुन् । क्यानले प्रतियोगिताको तालिका पनि जारी गरेको छ ।
त्यसअनुसार लिग चरणमा प्रत्येक टिमले अर्कोसँग एकपल्ट खेल्नेछ । यसरी पहिलो चरणमा ६ खेल हुनेछ । त्यसपछि शीर्ष दुई टिमले फाइनल खेल्नेछ ।
खेल तालिकाअनुसार पुस २१ र २२ जनकपुरमा मधेश र वाग्मती तथा वीरगन्जमा पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । पुस २४ र २५ मा जनकपुरमा आर्मी र वाग्मती तथा वीरगन्जमा मधेश र पुलिसबीच खेल हुनेछ । पुस २७ र २८ मा जनकपुरमा पुलिस र वाग्मती तथा वीरगन्जमा आर्मी र मधेश भिड्नेछन् । फाइनल वीरगन्जमा माघ १ देखि ३ सम्म हुनेछ ।
