फाल्गुनन्द गोल्डकप : आज फिदिम स्पोर्टिङ र चर्च ब्वाइज भीड्ने

पुस १२, २०८१

लक्ष्मी गौतम

Falgunand Gold Cup: Fidim Sporting and Church Boys clash today

पाँचथर — फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपमा आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदैछन् । फिदिम माविको खेलमैदानमा आज अपरान्ह साढे २ बजे हुने खेलमा आयोजक फिदिम स्पोटिङ क्लव र चर्च ब्वाइज क्लब काठमाडौँबीच प्रतिस्पर्धा हुँदैछ ।

आयोजक फिदिम स्पोर्टिङ क्लबले पहिलो क्वाटर फाइनलमा त्रिुभुवन आर्मी र चर्च ब्वाइज क्लबले बिराटनगर एफसी सीटीलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन् । यस्तै, शनिबार हुने अर्को सेमिफाइनल खेलमा एनआरटी काठमाडौँ र मच्छिन्द्र क्वबबीच प्रतिस्पर्धा हुनेछ । पुष ६ गते सुरु भएको प्रतियोगितामा नेपाल र भारतका १० टिमको सहभागी थिए ।

जसमध्ये त्रिभुवन आर्मी क्लब, करसाङ फुटबल क्लब, विराटनगर सीटी फुटबल क्लब मोरङ, सहलेस फुटबल क्लब सिराहा र झापा ११ खेलबाट बाहिरिएका छन् । प्रतियोगिताको फाइनल पुष १५ गते हुनेछ । फाल्गुनन्द गोल्डकपमा यस वर्ष विजेताले १० लाख ५ सय ५५ रुपैयाँ र उप विजेताले ५ लाख ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपालका १६ औं विभूति फाल्गुनन्द लिङदेनको स्मृतिमा २०६५ सालदेखि सुरु भएको फाल्गुनन्द गोल्डकप २०७५ सालसम्म सञ्चालन भएर स्थगित भएको थियो । दशौं संस्करण पूरा भएपछि खेल मैदानको पर्खाल भत्किनुका साथै कोरोना महामारीका कारण स्थगित गरिएको थियो । प्रतियोगितालाई यसवर्ष एघारौं संस्करणका रुपमा निरन्तरता दिइएको हो । 

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully