मकवानपुर — हेटौंडामा जारी वाग्मती प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता–२०८१ अन्तर्गत शुक्रबार भएको खेलमा चितवन र मकवानपुरको टोली विजयी भएको छ ।
हेटौंडा–५, स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको पहिलो खेलमा काभ्रेको माउन्ट एभरेस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै चितवनको भरतपुर विजयी भएको हो । धादिङको धुनीबेंसी युथ समाजलाई २–१ गोलले हराउँदै मकवानपुरको पदमपोखरी युथ क्लब विजयी भएको हो ।
भरतपुरको तर्फबाट पहिलो हाफको ५ मिनेटमा गोल गर्दै अञ्जन चौधरीले पहिलो अग्रता दिलाएका थिए । खेलको दोस्रो हाफको ६६ औं मिनेटमा सन्दीप केसीले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । खेलको अन्तिम समयमा माउन्ट एभरेस्टका विशेष लामाले टिमका लागि सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच सान्त्वना गोलकर्ता माउन्ट एभरेस्टका लामा घोषित भए ।
पदमपोखरीको जितमा पहिलो हाफको ३८ मिनेटमा गोल गर्दै प्रितम स्याङ्बोले अग्रता दिलाएका थिए । खेलको ३८ मिनेटमा धुनीबेंसीका टिम क्याप्टेनले गोल गर्दै खेललाई एक/एक गोलको बाराबरीमा ल्याएका थिए । दोस्रो हाफको ४४ औं मिनेटमा महेश वाइबाले गोल गर्दै टिमलाई जिताएका हुन् । पदमपोखरीले ३ अंक जोडेको छ भने धुनीबेंसीमा अंकविहीन छ । यस समूहबाट काभ्रे प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको २ खेलमा जित निकाल्न नसकेको काभ्रे शून्य अंकसहित प्रतियोगिताबाट बाहिरिएको हो ।
लिगकम नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा ११ वटा जिल्लाको क्लबहरूको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल पुस २० गते हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा सञ्चालन भएको प्रतियोगितामा, प्रदेश खेलकुद विकास परिषद् र हेटौंडा उपमहानगरपालिका सहयोग रहेको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
