मल्लखम्बमा जम्दैछन् उज्ज्वल

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Ujjwal is gathering in Mallakhamba

काठमाडौँ — नेपालकै लागि भने मल्लखम्ब नयाँ खेल हो । धेरैलाई यो खेलबारे थाहा नहुन पनि सक्छ । त्यसैले यो खेल नेपालमा खासै लोकप्रिय छैन । तर यसै खेलमा लागिरहेका एक खेलाडी हुन्, उज्ज्वल गिरी । भारतीय उपमहाद्वीपको परम्परागत खेल भएकाले भारततिर भने यो खेल उत्तिकै लोकप्रिय छ ।

यस खेलमा खेलाडी एउटा काठको खम्बामा चढेर आफ्नो खेल कौशलता प्रदर्शन गर्छन् ।

काठको खम्बामा चढेर खेलाडीले अनेक मुद्रामा कसरत गर्ने गर्छन् । त्यसैले यो आफैंमा निकै गाह्रो खेल हो । उज्ज्वलले यो खेल खेल्न थालेको एक वर्षभन्दा बढी समयमात्र भएको छ । उनी भर्खर १७ वर्षका भए । यही उमेरमा पनि उनले दुईपल्ट विदेश गएर खेलिसकेका छन् । एकपल्ट भारतको आसाम र अर्कोपल्ट भुटानमा ।

उज्ज्वल भन्छन्, ‘नेपालका लागि यो नयाँ खेल हो, त्यसैले हाम्रोतिर यसबारे खासै चर्चा छैन । भारतमा भने यस खेलको ठूलो सम्भावना छ ।’ उनको योगमा पनि उत्तिकै रूचि थियो र अभ्यास गर्थे । त्यसैले पनि उनलाई मल्लखम्बमा सहभागी हुन मदत गरेको हो । उनी दिनहुँ यसको अभ्यास गर्छन् ।

उज्ज्वल मल्लखम्बबाहेक तेक्वान्दो र स्कीका खेलाडी हुन् । उनले वर्ष २०७८ मा मुस्ताङमा भएको राष्ट्रिय क्रसकन्ट्री स्की च्याम्पियनसिपमा भाग लिएका थिए । त्यस अर्थमा उनी एकै समय तीन खेलमा सक्रिय छन् ।

कान्तिपुर

Link copied successfully