विश्वकप खेल्ने यू–१९ टोली भरतपुरमा

पुस ११, २०८१

रमेशकुमार पौडेल

U-19 team to play World Cup in Bharatpur

चितवन — आईसीसी विश्वकप खेल्ने तयारीमा रहेको १९ वर्षमुनि महिला क्रिकेट टोलीले बुधबारदेखि निर्माणाधीन क्रिकेट रंगशालाको नमुना मैदानमा बन्द प्रशिक्षण सुरु गरेको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा रहेको रंगशालामा टोलीले १२ दिन प्रशिक्षण गर्ने छ ।

मलेसियामा जनवरी १८ देखि फेब्रुअरी २ सम्म आईसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता हुँदै छ ।

‘हामी यहाँ आएर अभ्यास गर्दै छौं । ग्राउन्ड र पिचको अवस्था राम्रो लाग्यो । हामीले एसिया कप खेल्दाका केही कमजोरी विश्वकपमा दोहोर्‍याउने छैनौं । फिल्डिङ र रनिङ बिटविन विकेटमा हामी सुधार गर्न खोज्दैछौं’ टोलीकी कप्तान पूजा महतोले भनिन् । टिममा पावर हिटिङ अलिकति कमजोर भएको हुँदा यसलाई पनि सुधार गर्न क्याम्प सहयोगी हुने उनको विश्वास छ ।

‘हामी अहिलेसम्म राम्रो गर्दै गएका छौं । सुपर सिक्समा जाने आत्मविश्वास छ । पाकिस्तानलाई हराएका हौं । यसबाट वर्ल्डकपमा पनि टेस्ट खेल्ने देशलाई हराउँछौं भन्ने छ,’ पूजाले आत्मविश्वास देखाइन् । नेपालले समूह चरणको पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ । त्यसपछि नेपालले जनवरी २० मा स्कटल्यान्ड र जनवरी २२ मा अस्ट्रेलियासँग खेल्दै छ । टोली महेशप्रसाद रिजालको मुख्य प्रशिक्षणमा रहेको छ ।

‘बलिङ, ब्याटिङ, फिल्डिङ र फिटनेस सवै पक्षमा हामीले गर्नुपर्ने सुधारका विषयमा यहाँ मिहिनेत गर्ने छौं,’ मुख्य प्रशिक्षक रिजालले भने । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले रामपुरमा रंगशाला बन्दै गरेको र नमुना मैदान तयार भएका कारणले बन्द प्रशिक्षणका लागि यो ठाउँ रोजेको बताए । ‘यहाँ बन्दै गरेको रंगशाला समयमै सक्न सबैको ध्यान पनि यसबाट जाओस् भन्ने हो,’ उनले भने ।

हालसम्म निर्माणको १३ प्रतिशत काम पूरा भएको छ । सन् २०२७ मा यू–१९ विश्वकप महिला क्रिकेट नेपालमै हुँदै छ । ‘हामी चाहन्छौं त्यो विश्वकपका खेल यहाँको रंगशालामा पनि होस् । यसका लागि हामी चाँडो काम सक्ने ध्याउन्नमा छौं,’ भरतपुर महानगर प्रमुख रेनु दाहालले भनिन् । महानगरको तत्परतामा नै रंगशाला बन्दै छ ।

निर्माणाधीन रंगशालाको नमुना मैदानमा गत वर्ष भएको मैयादेवी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट टोलीका खेलाडी छनोट भएका थिए । ‘भरतपुरमा क्रिकेट खेलको माहोल बढेको छ । यस्तो बेला यू–१९ महिला टोली विश्वकप खेल्न जानुअघि अभ्यासका लागि यहाँ आएको छ । यहाँ रंगशाला बन्दै छ । जसरी काम हुँदै छ, सन् २०२७ को विश्वकप यहाँ हुने सम्भावना छ,’ चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले भने । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully